पोखरा: पोखरा-१४ स्थित मिलनसार आमा समूहले हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ। आइतबार पोखरा-१४, इगल आई रेष्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा समूहका सदस्यहरू, स्थानीय बासिन्दा र अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमकी अध्यक्ष सृजना श्रेष्ठले सम्पूर्ण दिदीबहिनीहरूलाई तीजको शुभकामना दिँदै यस्ता कार्यक्रमले आपसी सद्भाव र एकता बढाउन मद्दत पुग्ने बताउनुभयो। प्रमुख अतिथिको रूपमा वडा सदस्य तनुजा थापाले नारीको महान पर्व तीजको महत्त्वमाथि प्रकाश पार्दै यस्ता सामाजिक कार्यक्रमहरूले महिला सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
त्यसैगरी, कार्यक्रमका विशेष अतिथि शिव मार्ग ‘क’ टोलका अध्यक्ष बल बहादुर मगरले समाजको विकासमा आमा समूहको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यका लागि आफू तत्पर रहेको बताउनुभयो।
कार्यक्रममा तीज गीत, नृत्य, र विभिन्न सांस्कृतिक प्रस्तुतिहरूले माहोललाई थप रमाइलो बनाएको थियो। कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई तीजको दर खुवाएर बिदाइ गरिएको थियो।