बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले स्वास्थ्य क्षेत्रका कार्यक्रम तथा कार्य सम्पादनलाई अझ प्रभावकारी, परिणाममुखी र नागरिकको प्रत्यक्ष आवश्यकतासँग जोड्नुपर्नेमा बताएका छन् । स्वास्थ्य क्षेत्रमा विनियोजित बजेट तथा उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्राथमिकताका आधारमा योजना निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आयोजित आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विगत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमहरूबाट प्राप्त अनुभव, उपलब्धि र सिकाइलाई आत्मसात् गर्दै आगामी कार्यक्रमहरू तय गर्नुपर्ने बताए ।
‘स्वास्थ्य क्षेत्रमा बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्म उपलब्ध स्रोतसाधनको अधिकतम सदुपयोग हुनुपर्छ’ मन्त्री पौडेलले भने– ‘प्राथमिकताका आधारमा योजना निर्माण गरी अपेक्षित उपलब्धि हासिल गर्नेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ ।’
यसैगरी, मन्त्री पौडेलले वार्षिक समीक्षा गोष्ठीलाई केवल औपचारिकतामा मात्र सीमित नराखी विगतका कमीकमजोरी सुधार्ने र आगामी कार्यदिशा तय गर्ने अवसरका रूपमा उपयोग गर्न स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायलाई आग्रह गरे ।
गोष्ठीमा प्रदेशभित्र सञ्चालित विभिन्न स्वास्थ्य कार्यक्रमहरूको प्रगति समीक्षा, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा भावी रणनीतिका विषयमा सरोकारवालाहरूबिच छलफल भएको थियो ।