पोखरा महानगरको सहयोगमा शिवमार्ग “क” टोलमा सामुदायिक भवन निर्माण सम्पन्न, मेयर आचार्यद्वारा समुद्घाटन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा, शनिबार – पोखरा महानगरपालिका-१४ स्थित शिवमार्ग “क” टोल विकास संस्थाको नवनिर्मित सामुदायिक भवनको शनिबार  समुद्घाटन गरिएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उक्त भवनको समुद्घाटन गर्नुभएको हो। स्थानीयवासी, महानगरपालिका र विभिन्न सहयोगीहरूको संयुक्त प्रयासबाट निर्माण सम्पन्न भएको यो भवन सामुदायिक सहकार्यको एक उत्कृष्ट नमुना बनेको छ।

कुल ३२ लाख १२ हजार ३४९ रुपैयाँको लागतमा दुई चरणमा निर्माण सम्पन्न भएको यस भवनका लागि पोखरा महानगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको थियो। साथै, स्थानीय १५२ जना दाता तथा ६५ जना शुभेच्छुकहरूले नगद तथा श्रमदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर धनराज आचार्यले स्थानीयको एकता र विकासप्रतिको प्रतिबद्धताको प्रशंसा गर्नुभयो। उहाँले यस्ता सामुदायिक प्रयासहरूले समाजलाई एकताबद्ध बनाउने र स्थानीय स्तरमा विकासको जग बसाल्ने बताउनुभयो। महानगरपालिकाले स्थानीयको आवश्यकताअनुसार विकास निर्माणका कार्यमा सधैँ सहकार्य गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

संस्थाका अध्यक्ष बलबहादुर मगरले भवन निर्माणमा सहयोग गर्ने महानगरपालिका, वडा कार्यालय, सम्पूर्ण दाता तथा स्थानीयवासी र निर्माण समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले यो भवन टोलका सबै बासिन्दाहरूको साझा सम्पत्ति भएको बताउनुभयो।

कार्यक्रममा अध्यक्ष मगरले टोलको बृहत्तर विकासका लागि शिव मार्ग ‘क’ टोलमा रहेको माटेको लाम पोखरीलाई व्यवस्थित गरी पर्यटकीय क्षेत्र बनाउने, वडा नं. १४ र १७ जोड्ने मोटरेबल पुल निर्माण गर्ने, एयरपोर्टबाट विस्थापित हुने सुकुम्बासी बस्तीको व्यवस्थापन गर्ने, र स्थानीय रामेश्वरी माध्यमिक विद्यालयमा डिजिटल स्मार्ट पढाइको व्यवस्थापन गर्ने जस्ता मागहरू प्रस्तुत गर्नुभएको थियो।

२०८० सालमा पहिलो निर्माण समिति गठन भई सुरु भएको भवन निर्माण कार्य दोस्रो समितिमार्फत २०८२ सालमा सम्पन्न भएको हो। कार्यक्रममा वडा नं. १४ का वडा अध्यक्ष बोधबहादुर कार्की, वडा सदस्य तनुजा थापा सि.के. लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो। नवनिर्मित सामुदायिक भवनले अब टोलका विभिन्न सामाजिक, सांस्कृतिक तथा सार्वजनिक कार्यक्रमहरू सञ्चालन गर्न सहज हुने विश्वास स्थानीयले लिएका छन्।