साउदी अरेबिया पुगेपछि पहिलोपटक उपाधि जित्ने पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको योजना पुन: असफल भएको छ । शनिबार हङकङ रंगशालामा भएको साउदी सुपर कपको फाइनलमा अल नारस पेनाल्टी सुटआउटमा अल अहलीसँग पराजित भयो । निर्धारित समयको खेल २–२ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा भएको थियो । जहाँ अल नासर पाँच–तीनले पराजित भएको हो ।
पेनाल्टीमा अल अहलीका लागि इभान टोनी, फ्रान्क केसी, रियाद महारेज, फेरास अल्ब्रिकान र गालिनोलले गोल गरेका थिए । अल नासरका लागि क्रिस्टियानो रोनाल्डो, मार्सेलो ब्रोजोभिच र जोआओ फेलिक्सले गोल गर्दा अब्दुल्लाह अल–खैबारी भने चुकेका थिए । यसअघि रोनाल्डो सन् २०२३ मा साउदी क्लब आएका थिए । त्यसयता ७० माथि खेल खेल्दा पनि उनले साउदीलाई कुनै उपाधि जिताउन सकेका छैनन् । त्यसअघि रोनाल्डोले सन् २०२१ र २०२२ को सिजन प्रिमियर लिग म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए । त्यसअघि युभेन्ट्स र रियाल मड्रिडबाट खेलेका हुन् ।
निर्धारित समयमा दुई–दुईको बराबरी
फाइनलको निर्धारित समयमा दुवै टोलीबाट दुई–दुई गोल भएको थियो । तर, विजेताको टुंगो पेनाल्टी सुटआउटबाट भयो । खेलको पहिलो गोल भने अल नासरले गरेको थियो । रोनाल्डो नै गोल गर्न सफल भए । पाएको पेनाल्टीलाई सदुयोग गर्दै रोनाल्डोले टोलीलाई १–० ले अगाडि बढाए । तवर, केसीले इन्जुरी समयमा गोल गर्दा खेल बराबरीमा पुगेको थियो । पुन: ८२औँ मिनेटमा मार्सेलो ब्रोजभिकले पुन: अलनासरलाई २–१ को अग्रता दिलाएका थिए । तर, रोजर इबानेजले खेल सकिन एक मिनेटअघि गोल गर्दै बराबर गरेका हुन् । खेलभर अल नासरले १२ प्रहार गर्दा पाँच सट टार्गेटमा राखेको थियो ।