पोखरा, साउन २ — फेवातालको संरक्षणमा निरन्तर अग्रसर पोखरा महानगरपालिकाले जलकुम्भी झार फाल्ने अभियानलाई यस वर्ष पनि सक्रिय रूपमा अगाडि बढाएको छ। मेयर धनराज आचार्यको निर्देशनमा पोखरा महानगरपालिकाको आर्थिक सहयोग, महाअभियान कास्कीको समन्वय तथा स्थानीय जलारी समुदायको सहकार्यमा फेवा फाँट चेक ड्याम, ढल्केबर र खपौँदी आसपासका क्षेत्रहरूमा वृहत् सरसफाइ कार्य भइरहेको छ।
स्थलगत निरीक्षणमा पुगेका मेयर आचार्यले सरसफाइमा खटिएका जलारी समुदायका श्रमिकहरूसँग भेट गर्दै महानगरपालिकाबाट पारिश्रमिक उपलब्ध गराइने बताएका थिए।
महानगरका तर्फबाट रोजगार संयोजक तथा फोकल पर्सन विष्णु प्रसाद दाहालका अनुसार हाल २३ जना श्रमिक र २ वटा डुङ्गा प्रयोग गरेर १० दिनको अभियान सञ्चालन भइरहेको छ।
उक्त अभियानबाट जलकुम्भी झार हटाइएकाले वर्षा समयमा तालभरि फैलिने समस्या हटेको र चेक ड्याम निर्माणबाट थप राहत मिलेको स्थानीय ज्ञानु जलारीले बताएका छन्।
जलकुम्भी समस्या समाधानको दीर्घकालीन उपाय भनेकै त्यसको स्रोतबाटै नियन्त्रण गर्नु हो। पोखरा महानगरपालिकाले यो कार्यलाई बर्सेनि निरन्तरता दिँदै आएको छ।