वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा (एयरपोर्ट) का ६ वटा पसललाई कारबाही गरेको छ ।
मूल्य हेरफेर गरेको पाइएपछि मंगलबार नियमित अनुगमनमा गएको विभागको टोलीले एयरपोर्टका २ वटा पसललाई ४ लाख ६५ हजार रुपैयाँ जरिवाना गरेको छ भने अन्य ४ वटालाई विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
मूल्य हेरफेर गर्ने ईजि ट्रेडलाई २ लाख ६० हजार रुपैयाँ र एयरपोर्ट टि एण्ड कफी शपलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।विमानस्थलमा एमआरपीभन्दा बढी मूल्य लिने प्रवृत्ति बढेसँगै विभागले पटक–पटक अनुगमन गर्दै आएको विभागका निरीक्षण अधिकृत अमितकुमार झाले बताए ।
‘तर यो पटक एमआरपीभन्दा बढी मूल्य लिइएको पाइएन बरु फ्याक्ट्रीमै फर एयरपोर्ट सेल लेखाएर एमआरपी नै बढी राखिएको पाइयो ,’ उनले भने,‘एमआरपी घोषणा भइसकेपछि बढी घटी हेरिरहेका छैनौँ ।’
यस्तै एयरपोर्टका अन्य ४ वटा व्यापारिक फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात लिई ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । साथै ललितपुरको मनमय इन्टरप्राइजेजलाई रिलेबलिङ गरेको वा गुणस्तर,परिमाण मूल्य नापतौल हेरफेर गरेको पाइएपछि २ लाख ८० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।
एक इलेक्ट्रिक पसललाई सामान्य निर्देशन दिइएको जनाएको छ ।
