मादी गाउँपालिकाले १५ हजार विवाह खर्च दिने, तेस्रो सन्तान जन्माए ५० हजार पुरस्कार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ को लागि रोचक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

पालिका अध्यक्ष देवीजंग गुरुङले मंगलबार गाउँ सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विवाह खर्चदेखि धेरै सन्तान जन्माउन प्रोत्साहन कार्यक्रम ल्याइएको छ ।

पालिकाले २० वर्ष उमेर कटेपछि विवाह गर्ने दलित समुदायका महिलाहरूलाई प्रतिव्यक्ति १५ हजार नगद दिने भएको छ । पालिकामा बालविवाह बढेपछि पालिकाले २० वर्ष पूरा भएपछि मात्रै विवाह गर्ने नीति अघि सारेको हो ।

‘विवाहवारीः बीस वर्ष पारी’ भन्ने कानूनी व्यवस्था अनुरूप २० वर्ष नपुग्दै विवाह गर्ने चलन रोक्न दलित समुदायका युवतीहरूका लागि मात्र २० वर्ष पूरा भए पश्चात् विवाह गरेमा प्रोत्साहन स्वरूप १५ हजार रुपैयाँ प्रदान गरिनेछ,’ पालिकाले पारित गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । पालिका अध्यक्ष गुरुङले पालिकामा बालविवाह अत्यधिक बढेको बताए ।

‘एउटा अध्ययन गरेका थियौँ । बालविवाह त भित्रभित्रै चर्को रहेछ,’ उनले भने, ‘त्यसमा पनि दलित समुदायमा अत्यन्तै धेरै छ । यो रोक्न पालिकाले नयाँ नीति लिएको हो ।’ उनले बाल विवाहसँगै जबरजस्ती हुने विवाह र अन्य घातक रुढीवादलाई अन्त्य गर्न समुदाय स्तरमा अभिभावक शिक्षा र विद्यालयमा किशोर–किशोरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए ।

यस्तै, गाउँपालिकामा बढ्दै गएको न्यून जन्मदर र ऋणात्मक जनसङ्ख्या वृद्धिदरलाई धनात्मक बनाउन तेस्रो सन्तान जन्माउने प्रोत्साहन कार्यक्रम अघि सारेको छ । तेस्रो सन्तान जन्मिए नवजात शिशुको बैंक खाता खोलेर ५० हजार रुपैयाँ नगद जम्मा गरिदिने पालिकाको घोषणा छ । यसका लागि वडा सचिव र वडाध्यक्षको सिफारिस चाहिन्छ ।

यसरी दिइने रकम शिशुले बालिग भएर मात्रै निकासा लिन मिल्छ । यसरी रकम पाउनका लागि मादी गाउँपालिकाको शुद्ध नागरिक हुनुपर्छ ।

‘मादीमा स्थायी बसोबास भएका, अन्यत्र स्थायी बसोबास नभएका तथा आवधिक रूपमा पनि लामो समय अन्यत्र अस्थायी रूपमा बसोबास नगरी बसाइसराईं समेत नगरेका शुद्ध मादी गाउँपालिकाबासी दम्पतीहरूले २ भन्दा बढी सन्तान जन्माएमा नवजात शिशुको बैंकमा खाता खोली ५० हजार रुपैयाँ जम्मा गर्ने व्यवस्था मिलाइने छ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।