ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भारतबाट लागुऔषधसहित नेपाल आएका दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका–४, ठाँडी बजारमा प्रहरीको टोलीले भारतीय नम्बर प्लेटको गाडी बिआर ३२ एडी ६९९३ मा सवार दुई भारतीय नागरिकलाई चेकजाँच गर्ने क्रममा लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुबनी जिल्लाको ग्राम पञ्चायत झौरा पथराहीका ४० वर्षीय रामनारायण साह र ग्राम पञ्चायत गोइत प्रसाहीका २७ वर्षीय राजनबाबु साह रहेका जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले बताए।

उनीहरूको साथबाट ४० ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरी प्रवक्ता पासवानले बताए। पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत सिराहाबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान जारी राखेको डिएसपी पासवानले जानकारी दिए।