फेवाताल सीमाङ्कनमा तीव्रता: पोखरा मेयर धनराज आचार्यको स्थलगत निरीक्षण, ३६० पोल गाडिए

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखराको शान र प्राकृतिक सम्पदाको प्रतीक फेवातालको सीमाङ्कन र संरक्षणमा पोखरा महानगरपालिकाले ऐतिहासिक कदम चालेको छ। सर्वोच्च अदालतको आदेशअनुसार तालको सीमाना सुनिश्चित गर्दै सीमा स्तम्भ गाड्ने कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।

जेठ १७ गतेदेखि सुरु भएको यस अभियानमा हालसम्म ३६० वटा सीमा स्तम्भहरू गाडिएको पोखरा उपत्यका नगर विकास समितिका प्रमुख प्रकाश सुवेदीले जानकारी दिनुभयो।

बिहीबार पोखरा महानगर प्रमुख धनराज आचार्यले भकुन्डे माछा पोखरी क्षेत्रमा भइरहेको कार्यको स्थलगत निरीक्षण गर्दै, फेवाताल संरक्षणलाई सर्वोच्च प्राथमिकता दिइएको स्पष्ट पार्नुभयो।

निरीक्षणका क्रममा प्रमुख आचार्यले प्राविधिक टोली, सर्वेक्षक, सुरक्षा निकाय लगायत सबैको समर्पण र निष्ठाको प्रशंसा गर्दै यो कार्य पोखराको दीर्घकालीन हितमा रहेको उल्लेख गर्नुभयो।

महानगरको योजनाअनुसार पहिलो चरणमा तालको ६.३४३ वर्ग किलोमिटर क्षेत्रलाई घेर्ने गरी १०५५ वटा पोल गाडिनेछ। कार्य सम्पन्न भएपछि दोस्रो चरणमा थप संरक्षण तथा व्यवस्थापनका कार्यहरू थालिने छन्।

यो पहलले फेवातालको पर्यावरणीय सन्तुलन जोगाउने मात्र नभई पोखराको सांस्कृतिक, पर्यटन र प्राकृतिक पहिचानलाई सुदृढ गर्ने विश्वास लिइएको छ।