भ्रष्टाचारको एक मुद्दामा विशेष अदालतबाट ३ लाख धरौटीमा छुटेका बागमती नगरपालिकाका मेयर भरतबहादुर थापाको अर्को भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी छ ।
विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासमा थापाविरुद्धको गैरकानुनी रूपमा आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा सुनुवाइ भइरहेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २७ गते थापाले अवैधानिक तरिकाले ५ करोड ३३ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
थापाविरुद्ध विशेषमा तीन वटा भ्रष्टाचार मुद्दा रहेका छन् । बागमतीको वडा नम्बर ४ र १२ मा पर्ने सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुङ्गा, गिट्टी, बालुवा, माटो उत्खनन गरेर परेको खाल्डोमा माछापोखरी निर्माणका नाममा करोडौँ रकम सङ्घ र प्रदेशबाट माग गरी ५६ करोड ७१ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप उनीमाथि थियो ।सम्पत्ति शुद्धीकरणको उक्त मुद्दामा न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले गत असार ५ गते उनलाई धरौटीमा छाड्ने आदेश गरेको थियो ।