पाँचऔंलेलगायत विभिन्न जडिबुटीसहित जिल्ला प्रहरी कार्यालय रुपन्देहीले एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुरज कार्कीका अनुसार बुधबार दिउँसो १ बजे बुटवल उपमहानगरपालिका– २ आँखा अस्पताल भिमसेन टोलबाट ती व्यक्तिलाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने अहमद्दीन अलीको घर भाडामा लिई बस्दै आएका जुम्ला कन्कासुन्दरी गाउँपालिका– ४ बस्ने ४८ वर्षका सुकबहादुर बुढालाई पक्राउ गरेको हो। बुढाले प्रतिबन्धित जडिबुटीहरु गोदाम गरी राखेको अवस्थामा बरामद गरिएको प्रहरीको भनाइ छ।
सेतो बोरा र सेतो प्लाष्टिकको बाल्टीमा राखेको पाँचऔँले फेला पारी तौल गर्दा १६ किलो एक सय ग्राम (५ हजार ६३५ पिस) भेटिएको प्रहरीले जनाएको छ। सो परिमाणको अन्दाजी मूल्य २८ लाख १७ हजार ५ सय रुपैयाँ रहेको प्रहरीको भनाइ छ। त्यस्तै प्रहरीले सेतो बोरामा राखिएको ९ किलो ६ सय ग्राम कुट्की, सेतो प्लाष्टिकमा राखेको गिद्ध सिङे ५ थान र रुद्राक्ष ३ थान पनि बरामद गरिएको प्रनाउ कार्कीले जानकारी दिए।
प्रहरीले उनीमाथि थप अनुसन्धानका लागि सैनामैना सवडिभिजन वन कार्यालय रुपन्देहीमा बुझाएको छ।