सिरहाको मिर्चैयाबाट प्रहरीले कडा खालको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित स्थानीय तीन जना युवकलाई पक्राउ गरको छ ।मिर्चैयास्थित इलाका प्रहरी कार्यालयबाट सुरक्षा गस्तीमा खटिएको प्रहरीले मिर्चैया नगरपालिका ५ को खाली घरबाट स्थानीय तीन जना युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्रकुमार पासवानका अनुसार खाली घरमा लागूऔषध सेवन गरिरहेको अवस्थामा मिर्चैया ५ का करिब २० वर्षीय राहुलकुमार साह, २१ वर्षीय दिलिपकुमार साह र वडा नं. ६ का करिब २३ वर्षीय विशाल गिरीलाई प्लाष्टिक समेत पाँच सय ४० मिलिग्राम ब्राउनसुगर जस्तो पदार्थसहित पक्राउ गरिएको हो ।
लागुऔषध सेवन गरिरहेको अवस्थामा प्रहरीलाई देख्ने बित्तिकै फालेपछि आशंका लागेर चेकजाँच गर्दा तीनवटा प्लाष्टिकमा पाको पारिएको खैरो पदार्थ बरामद भएपछि तत्काल तीन जनालाई नै नियन्त्रणमा लिई मंगलबार सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान थालिएको उनले बताए । उनका अनुसार पक्राउ गरिएकाहरुलाई मिर्चैया प्रहरीको हिरासतमा राखिएको छ ।