चलचित्र ‘मिरमिरे’मा अभिनेता प्रकाश सपूत अनुबन्ध भएका छन् । अभिनेता दयाहाङ राईपछि प्रकाश यो चलचित्रमा भित्रिएका हुन् । ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्ने भएका छन् ।
अन्य कलाकारबारे हालसम्म यो टिमले जानकारी दिएको छैन । ‘हामी कलाकारसँग सम्झौताकै क्रममा छौँ । केहीसँग कुरा भइरहेको छ,’ निर्देशक यम शेर्पाले भने, ‘हामी अहिले बजारले रुचाएका र अभिनयमा पक्कड भएका कलाकारलाई नै लिएर काम गर्नेछौँ ।’
प्रकाश यो चलचित्रमा अभिनेताका रूपमा मात्रै रहनेछन् वा साङ्गीतिक पाटोमा पनि जोडिनेछन् भन्नेबारे खुलाइएको छैन ।अभिनेता प्रकाश सपूतले ‘मिरमिरे’मा जोडिन पाउँदा खुसी व्यक्त गरे । आफ्नो भूमिका विशेष र महत्त्वपूर्ण रहेको बताउँदै उनले यस चलचित्रले आफूलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरे ।यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने निर्देशक यमले जानकारी दिए । चलचित्रको निर्देशनसँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् ।निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।‘मिरमिरे’लाई २०८२ मा रिलिज हुनेछ । प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।