पोखरा, जेठ २७ — पोखरा महानगरपालिका वडा नं. ८ को आयोजनामा स्थानीय युवाहरुलाई स्वरोजगारमुखी बनाउन लक्षित १५ दिने कपाल काट्ने (बार्बर) तालिम मंगलबारदेखि सुरु गरिएको छ। तालिम हड्कड ब्यूटी इन्स्टिच्युट प्रा.लि., रानीपौवा, र वडा कार्यालयको सहकार्यमा सञ्चालन गरिएको हो।तालिम संचालन हड्कड ब्यूटी इन्स्टिच्युट प्रा.लि., रानीपौवाको कार्यलयमा हुनेछ।
कार्यक्रमको अध्यक्षता वडा नं. ८ का अध्यक्ष रूद्रनाथ बरालले गर्नुभयो। गोविन्द बराल र हिराकाजी श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने कार्यक्रम सञ्चालन वडा सचिव झंमकनाथ पौडेले गर्नुभएको थियो।
कार्यक्रममा गोविन्द बरालले स्वागत मन्तव्य राख्नुभयो भने हिराकाजी श्रेष्ठले शुभकामना मन्तव्य दिनुभयो। तालिम प्रशिक्षक मिना गुरूङको नेतृत्वमा सञ्चालन भइरहेको छ।
तालिममा कुल २५ जना सहभागी रहेका छन्, जसमा ३ जना महिलाको सहभागिता रहेको छ। सहभागीहरूले कपाल काट्ने, दाह्री बनाउने तथा सफा, सुरक्षित र आधुनिक बार्बर सेवा प्रदान गर्न आवश्यक सीपहरू सिक्नेछन्।
कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष बरालले भन्नुभयो, “वडा सधैँ युवाको हितमा क्रियाशील छ। सीपमूलक तालिममार्फत युवाहरूलाई आत्मनिर्भर बनाउनु हाम्रो उद्देश्य हो।”
वडाले यसअघि पनि विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको जनाएको छ। तालिमपछि सहभागीहरूले आफ्नै स्तरबाट व्यावसायिक सेवा सुरु गरेर आर्थिक रूपमा आत्मनिर्भर बन्ने अपेक्षा गरिएको छ।