पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाए, न्यायालयप्रति विश्वस्त छु : माधव नेपाल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेकाले कतिपय व्यक्तिहरू आत्तिएको बताएका छन्।

मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले पूर्वाग्रह राखेर आफूमाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भइरहेको बताएका हुन्।

उनले भने, ‘अहिले नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ। हाम्रो पार्टीको महत्त्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू आत्तिएका पनि छन्, आतंकित पनि भएका छन्। पूर्वाग्रह राखेर बसेका छन्, बदलाको भावनाले उनीहरूलाई पोलिराखेको पनि छ। त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भएको छ। भ्रष्टाचारको केस जसमा निर्णायकको आधार चाहिन्छ। माधव नेपालले कसैसँग एक पैसा घुस लिएको भए, एकदाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु।’

उनले भने, ‘मैले भन्ने गरेको छु नबिराउनु, नडराउनु। आफ्नो स्वार्थको लागि कुनै काम भएको छैन र आत्तिनुपर्नेछैन। गलत आरोपमा दृढतासाथ उभिन्छौँ। मलाई विश्वास छ, न्यायपालिकाले मलाई न्याय दिनेछ। हामीले न्यायालयलाई विश्वास गर्नुपर्छ।’