पोखरा, — पोखरा महानगरपालिका वडा नं. ७ ले गर्भवती महिलाहरूको स्वास्थ्य सुदृढ बनाउन पोषण सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममार्फत ४० जना गर्भवती महिलालाई ५० हजार रुपैयाँ बराबरको अन्डा र ओट्स प्रदान गरिएको हो।
वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडा अध्यक्ष राम मोहन आचार्यले अध्यक्षता गर्नुभयो। उहाँले कार्यक्रमको उद्घाटन गर्दै भने, “वडा कार्यालय सधैं जनताको पक्षमा उभिएको छ। गर्भवती महिला र मातृत्व सुरक्षामा कुनै सम्झौता हुँदैन। यो कार्यक्रम त्यसैको एउटा उदाहरण हो।”
कार्यक्रमका विशेष अतिथि वडा सदस्य तथा स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष वसुन्धारा लामिछाने हुनुहुन्थ्यो। अन्य अतिथिमा वडा सदस्यहरू सुनिता सुनार, अर्जुन बा. भुजेल थापा, विष्णुमणि बराल, शहरी स्वास्थ्य केन्द्रकी इञ्चार्ज माधवी सिक्देल तथा महिला स्वास्थ्य स्वयंसेविका संयोजक भिमा पौडेल रहनुभएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य वसुधरा लामिछानेले राख्नुभयो भने स्वागत मन्तव्य माधवी सिक्देलले दिनुभयो। कार्यक्रम सञ्चालन वडा सचिव राजेन्द्र पैडेलले गर्नुभएको थियो।
वडाले सञ्चालन गरेको यो कार्यक्रमले गर्भवती महिलाको पोषण सुधारका साथै सुरक्षित मातृत्वमा योगदान दिने विश्वास व्यक्त गरिएको छ। सहभागी महिलाहरूले वडाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका छन्।