मेयर आचार्यको आग्रह: “हड्ताल र आन्दोलनको मार्ग छोडी वार्ताबाट समाधान खोजौं”

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गण्डकी प्रदेशमा जारी यातायात व्यवसायीहरूको आन्दोलनप्रति चिन्ता व्यक्त गर्दै वार्ता, छलफल र संवादमार्फत समस्याको समाधान खोज्न सबै पक्षलाई आग्रह गरेका छन्।

“समस्या समाधानको बाटो प्रचलित ऐन, नियम र कानून भित्र रही वार्ता, छलफल र अन्तरसंवाद नै हो,” मेयर आचार्यले  भनेका छन्, “हालका घटनाक्रमले पोखराको पर्यटन व्यवसायमा प्रत्यक्ष असर पारिरहेको छ, जुन अत्यन्तै दुःखद विषय हो।”

पोखरा “पर्यटनको राजधानी” का रूपमा परिचित रहेकाले यहाँ आउने देश–विदेशका पर्यटकहरू हड्ताल, सवारी साधनका तानातान, र अमर्यादित व्यवहारबाट प्रत्यक्ष प्रभावित भइरहेका छन्। यसले पोखराको अन्तर्राष्ट्रिय छवि र समग्र पर्यटन उद्योगमा गम्भीर नकारात्मक असर पारिरहेको मेयर आचार्यको भनाइ छ।

उहाँले सरकार तथा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्रीसमेत समस्याप्रति गम्भीर रहेको र संवादका ढोका खुला रहेको उल्लेख गर्दै समाधान वार्ताको टेबुलबाट हुने विश्वास व्यक्त गरे।

“हड्ताल र आन्दोलनको मार्ग छोडी व्यवसायिक वातावरणमा फर्किनुहुन सम्पूर्ण यातायात व्यवसायी साथिहरू र संगठनहरूमा हार्दिक अनुरोध गर्दछु,” भन्दै मेयर आचार्यले पोखराको शान्ति, सुव्यवस्था र समृद्धिका लागि सबैलाई जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरेका छन्।