सि झाङ स्वायत्त जनसरकारका उपप्रमुख डान बा नेतृत्वको प्रतिनिधि मण्डल र पोखरा महानगर प्रमुख आचार्य बीच शिष्टाचार भेटवार्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा,जनवादी गणतन्त्र चीनको सि झाङ स्वायत्त जनसरकारका उपप्रमुख डान बा नेतृत्वको ६ सदस्यीय प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ । चीनको ल्हासाबाट हिमालयन एयरलाइन्सको विमान मार्फत पोखरा आएको उक्त टोलीले नगरप्रमुख आचार्यको कार्यकक्षमा गरेको भेटवार्तामा दुईपक्षिय हितका विषयमा छलफल भएको छ ।

छलफलका क्रममा नगरप्रमुख आचार्यले पोखराबाट चिनियाँ बजारमा निर्यात हुनसक्ने वस्तुहरूको सम्भाव्यता अध्ययनका लागि प्रतिनिधिमूलक एक अध्ययन समिति गठनको प्रस्ताव राखेका छन् । नेपालले बेहोर्नु परेको व्यापार घाटा कम गरि सन्तुलन कायम गर्ने सन्दर्भमा पोखराबाट कृषिजन्य उत्पादनहरू निर्यातका लागि चिनियाँ बजार उपयुक्त रहेको डान नेतृत्वको टोलीले बताएको छ । तर, त्यसको वास्तविकता अध्ययन तथा आवश्यक प्रक्रियामा सहजिकरणका लागि एक समिति गठनको प्रस्ताव गरिएको नगर प्रमुख आचार्यले बताए ।

पोखरामा होटल, उद्योग, पर्यटन तथा कृषिका विभिन्न क्षेत्रहरूमा लगानीको सम्भावना रहेको स्मरण गराउँदै महानगरप्रमुख आचार्यले डान बा मार्फत चिनियाँ उद्योगी व्यवसायीहरूलाई लगानीका लागि आह्वान समेत गरे । पोखरा महानगरपालिका चीनका विभिन्न नगरहरूसँग भगिनी सम्बन्ध कायम गर्दै सांस्कृतिक आदानप्रदान, शिक्षा, स्वास्थ्य, प्रविधि, पूर्वाधार विकास र रोजगारी सृजना हुने गतिविधिहरूमा साझेदारीका लागि तत्पर रहेको उनले बताए। पर्यटन राजधानी पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान मार्फत चीनका सहरहरूमा पर्यटन आदानप्रदानमा विशेष पहल गर्न उनले आग्रह समेत गरे ।

सि झाङ स्वायत्त जनसरकारका उपप्रमुख डान बाले नेपाल चिन सीमाका १४ वटा नाकाहरू सञ्चालनका लागि आफ्नो क्षेत्रमा आवश्यक पूर्वाधार तयार गरिसकेको उल्लेख गर्दै नेपाल र नेपालीका लागि भिसा प्रक्रियालाई सहज बनाउन सम्बन्धित निकायमा पहल गर्ने बताए । सो क्रममा उनले नेपाल र चीनको सम्बन्ध हिमालयको सभ्यतामा आधारित निकै पुरानो र गहिरो रहेको बताए । उनले सन् २०१९ मा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपाल चिन सम्बन्ध थप प्रगाढ भएको उल्लेख गरे ।

पोखरा प्राकृतिक रूपमा आफूलाई निकै सुन्दर लागेको बताउनुताएका डान बाले पोखरासँग सहकार्य गर्न आफूहरू इच्छुक रहेको बताए । नेपालको व्यापार घाटालाई कम गर्नका लागि नेपाल तर्फबाट विशेष गरी पोखराबाट निर्यात हुनसक्ने कृषिजन्य उत्पादनहरू चिनियाँ बजारले लिन सक्ने बताए । त्यसको प्राथमिकता निर्धारण गरी सहकार्य गर्न सकिने उनकाे धारणा थियाे । यसले नेपाल र चीनका बिचमा व्यापारको नयाँ आयाम थप्ने उनले विश्वास व्यक्त गरे ।

टोलीमा सि झाङ स्वायत्त जनसरकारका उपसचिव गाओ बाओजुन, ल्हासा भन्सार कार्यालयका कमिसनर वाङ् होनघान, व्यापार विभाग सि झाङ स्वायत्त प्रदेशका उपनिर्देशक योय गाउओई, अन्तर्राष्ट्रिय व्यापार विभाग सि झाङ स्वायत्त प्रदेशका अनुसन्धान अधिकृत गेसाङ लेङ्जिले, अन्तर्राष्ट्रिय सूचना विभाग सि झाङ स्वायत्त प्रदेशका प्रतिनिधि जेन हाईहेङ् लगायतको सहभागिता  थियो ।

पोखरा महानगरपालिकाको तर्फबाट नगर प्रमुख आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रवक्ता मोतीलाल तिम्सिना, सूचना अधिकारी तथा अधिकृत नवौँ कृष्णप्रसाद तिवारी, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग अधिकृत सुवास ढुङ्गाना लगायतको सहभागिता थियो ।