पोखरा, – नेकपा (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीको प्रथम अधिवेशन जेठ १५ गते हुने भएको छ। अधिवेशनको पूर्वसन्ध्यामा हाल महानगर कमिटीका उपाध्यक्ष रहेका सालिक बरालले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
बरालले पोखरा १३ बाट राजनीतिक यात्रा सुरु गरेका थिए र युवा संघको केन्द्रीय सदस्य हुँदै हाल उपाध्यक्षसम्मको जिम्मेवारी सम्हाल्दै आएका छन्। उनले २०५८ सालदेखि सक्रिय राजनीतिक जीवन बिताउँदै आएका छन्।
“मैले सधैं पार्टीको लागि समर्पित भएर काम गरेको छु,” बरालले भने, “पार्टी र कार्यकर्ताहरूको माया र विश्वासका कारण अध्यक्ष पदमा उम्मेदवारी दिन लागिएको हो। मेरो अनुभव, योगदान र निरन्तर सक्रियतालाई ध्यानमा राख्दै पार्टीले मलाई समर्थन गर्नुपर्छ भन्ने विश्वास छ।”
बराल युवामाझ लोकप्रिय नेता मानिन्छन्। उनले हालको अवस्थामा आफूभन्दा योग्य अर्को उम्मेदवार नदेखिएको दाबी समेत गरेका छन्।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ, जसले पोखरा महानगर भित्र संगठनलाई थप सुदृढ र प्रभावशाली बनाउने अपेक्षा गरिएको छ।