पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गर्ने पहिलो महानगरपालिका

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा,  – पोखरा महानगरपालिका नेपालकै पहिलो “पूर्ण खोप सुनिश्चितता दिगोपना” घोषणा हुने महानगरपालिका बनेको छ। सोमबार आयोजित विशेष समारोहका बीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले औपचारिक रूपमा यो उपलब्धिको घोषणा गरे।

नेपालका ६ वटा महानगरहरूमध्ये पोखरा पहिलो हो जसले ०–२३ महिनासम्मका बालबालिकालाई लक्षित गर्दै पूर्ण खोप सुनिश्चितता प्राप्त गरेको हो। विगत एक वर्षको अवधिमा ०–१५ महिनासम्मका ५,३४१ र १६–२३ महिनासम्मका ४,१५० बालबालिकाको घरमै पुगेर खोपको अवस्था मूल्यांकन गरिएको थियो।

महानगर प्रमुख आचार्यका अनुसार अभियानका क्रममा जन्मदेखि कुनै खोप नलिएका एक जना बच्चालाई समेत पहिचान गरी खोपको पहुँचमा ल्याइएको हो। त्यस्तै, ४१ जना बालबालिकामा खोपको अभाव देखिएपछि उनीहरूलाई पनि पूर्ण खोप उपलब्ध गराइएको थियो।

घोषणा कार्यक्रममा उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रवक्ता मोती तिमिल्सिना, वडा अध्यक्षहरू राधिका शाही (१७), सन्तोष बाँस्तोला (१२), विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ, यूएनएफपीए लगायत विभिन्न स्वास्थ्य निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख आचार्यले भने, “खोप सुनिश्चितता स्वास्थ्य प्रणालीको दिगोपना मात्र होइन, नागरिकको अधिकार सुनिश्चित गर्ने आधार पनि हो। पोखराले यो कदम चालेर दिगो विकासको उदाहरण प्रस्तुत गरेको छ।”

पोखराको यो ऐतिहासिक उपलब्धिले अन्य महानगर तथा स्थानीय तहहरूलाई पनि खोप अभियानमा सक्रिय हुन उत्प्रेरणा दिने विश्वास लिइएको छ।