‘ऊनको स्वीटर’को प्रदर्शन शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गर्दैछ । निर्माताले विहिबार काठमाडौंमा विशेष शो आयोजना गरे जहाँ कलाकर्मी, राजनीतिक, कानुनी र सञ्चार क्षेत्रका व्यक्तिहरू सहभागी रहे ।
विशेष शोमा अभिनेत्री मनीषा कोइराला, अभिनेता विजय लामा, नाजिर हुसेन, गायक आनन्द कार्की, संविधानविद् भीमार्जुन आचार्य, एमाले नेतृ नवीना लामा, संगीतका प्राध्यापक लोचन रिजाल, पत्रकार दिलभुषण पाठक, निर्देशक अमनप्रताप अधिकारी लगायतले फिल्म हेरे ।
उनीहरूले ‘ऊनको स्वीटर’ले नेपाली समाजको विविधता, प्रेम र परम्परालाई संवेदनशील ढङ्गले प्रस्तुत गरेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे ।
अभिनेत्री कोइरालाले फिल्मको प्रशंसा गर्दै भनिन्, ‘कति सुन्दर र मन छुने प्रेमकथा ! जातीय सीमाहरू पार गरेर गरिने माया, सांस्कृतिक विविधताको जीवन्त प्रस्तुति, आत्मा छुने सङ्गीत अनि सशक्त अभिनयले यो चलचित्र अविस्मरणीय बनाएको छ । हामी हाँस्यौँ, रोयौँ, र नेपालभित्रको विविध आत्माको सुन्दरता अनुभव गर्यौँ ।’
गायक राजेशपायल राईले भने, ‘चलचित्र अत्यन्त मीठो बनेको छ । निर्देशकको काम उत्कृष्ट छ भने कलाकारको अभिनय उल्लेखनीय छ । यस्ता सुगन्धित फूलजस्ता प्रेमकथाले नेपाली सिने उद्योगमा गर्व गर्न लायक काम हुँदैछ ।’
अभिनेता लामाले कथा र निर्देशन पक्षको प्रशंसा गर्दै दर्शकलाई हलमै गएर अनुभव गर्न आग्रह गरे । ‘यसका निर्देशक अमेजिङ स्टोरी टेलर हुन् । फरक ढङ्गको अर्गानिक कथा बोकेको यो चलचित्र सहरमा बस्ने हाम्रा लागि अनिवार्य हेर्नुपर्ने चलचित्र हो’ उनले भने ।
अभिनेता हुसेनले फिल्मले पुराना दिनहरूको सम्झना दिलाएको बताए । ‘चलचित्र न्यानो छ, कोमल छ । पुरानो समयको न्यानोपन फेरि बाँचेजस्तो लाग्यो । अभिनयले दिल नै चोरेर लैजान्छ’ उनले प्रतिक्रिया दिए ।
गायक कार्कीले फिल्मको हरेक कुराले दिल छोएको बताए । संविधानविद् आचार्यले कलाकारको अभिनय, संवाद, यसका दृश्य अति नै प्राकृतिक भएकोले हेर्दाहेर्दै आफ्नै जस्तो लागेको बताए ।
नवीन चौहान निर्देशित फिल्मले प्रदर्शनको ९ दिनसम्म देशब्यापी ५ करोड २० लाख रुपैयाँ ग्रस कमाइ गरेको सरकारको आधिकारिक बक्सअफिसमा उल्लेख छ ।