भारतले नेपाली सीमामा बढायो सेनाको सङ्ख्या

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अपरेशन सिन्दूरपछि आतङ्कित बनेको पाकिस्तानले अब नेपालको बाटो हुँदै भारतमा घुसपैठ गर्ने प्रयास गरिरहेको भन्दै भारतले नेपालसँगको सीमामा सुरक्षाकर्मीहरूको सङ्ख्या थपेको छ । भारतीय सुरक्षा एजेन्सीहरूका अनुसार नेपालमा लगभग ३७ जना सन्दिग्ध पाकिस्तानी र बङ्गलादेशीहरू छन् । उनीहरू कुनै न कुनै रूपमा भारत प्रवेश गर्ने प्रयासमा भएको भन्दै भारतीय समाचार संस्थाहरूले समाचार छापेका छन् ।

स्रोतका अनुसार यिनीहरूले लखनउ, वाराणसी, अयोध्या र मथुरालाई निशाना बनाउन सक्छन् । सुरक्षालाई ध्यानमा राख्दै बहराइचदेखि बलरामपुरसम्मको नेपाल सीमामा १ हजार ५०० थप एसएसबी कर्मचारी तैनाथ गरिएको छ । एसएसबी ४२ औँ बटालियनले सीमा क्षेत्रमा दोहोरो गस्ती बढाएको छ । यस अन्तर्गत सेनाले गस्ती गरिरहेको छ । थप सावधानी अपनाउन सो क्षेत्रमा एउटा चौकी पनि स्थापना गरिएको छ । नेपालबाट आउने र जाने हरेक व्यक्तिको परिचयपत्र जाँच भइरहेको छ । एसएसबीले सीसीटीभीमार्फत सीमा क्षेत्रको निगरानी गरिरहेको बताइएको छ ।

एसएसबी र प्रहरीको संयुक्त टोलीले सीमामा २४ सै घण्टा निगरानी गरिरहेको बलरामपुरका एएसपी योगेश कुमारले बताए । गाउँ सुरक्षा समितिहरूलाई पनि सक्रिय पारिएको भनिएको छ । जारवा कोतवालीका इन्चार्ज इन्स्पेक्टर गोविन्द कुमारले सीमा क्षेत्रमा पीएससी जवान, प्रहरी र एसएसबीले संयुक्त रूपमा गस्ती गरिरहेको बताए । सिमानामा सीसीटीभीमार्फत पनि निगरानी भइरहेको बताइएको छ । गुरुङ नाका चौकीबाट आवतजावत रोकिएको छ ।घुसपैठको सम्भावना रहेको भन्दै नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको महाराजगन्ज, सिद्धार्थनगर, बलरामपुर, बहराइच, श्रावस्ती, पिलिभित र लखिमपुर खेरीमा पनि अलर्ट जारी गरिएको छ । नेपालमा ३३ देखि ३७ जना बङ्गलादेशी र पाकिस्तानीहरू रहेको र सबैजना घुसपैठ गर्न खोजिरहेको भन्दै नेपालसँगको सीमामा २४ घण्टा गस्ती बढाइएको बताइएको छ ।