कोशी प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो यी पाँच प्रदेशमा पर्नेछ पानी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।

साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसको प्रभावले बिहीबार बिहान कोशी प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ।

पछिल्लो एक घन्टामा झापाको कन्चना मापन केन्द्रले ८ मिलिमिटर वर्षा मापन गरेको छ। मोरङ , सुनसरी र इलामका एक-दुई स्थानमा पनि वर्षा भएको छ।

पछिल्लो ६ घन्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा हल्का वर्षा भएको महाशाखाको वेबसाइटले देखाउँछ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको पनि सम्भावना रहेको छ।

बिहीबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने पूर्वानुमान छ।

राति कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा राति पनि हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।