अध्यक्ष बरालद्वारा नेपाल रेडक्रस कास्की शाखाको गोदाम तथा विपद् सिकाइ केन्द्र भवनको शिलान्यास

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको गोदाम घर तथा विपद् सिकाइ केन्द्र भवनको शिलान्यास एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ। पोखरा महानगरपालिका वडा नं ८ मा निर्माण हुने उक्त भवनको शिलान्यास वडा अध्यक्ष रूद्रनाथ बरालले गरेका हुन्।

कार्यक्रममा बोल्दै अध्यक्ष बरालले रेडक्रसले आपतकालीन सेवा, विपद् व्यवस्थापन र मानव सेवा क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै, भवन निर्माणपछि जिल्लामा विपद् प्रतिकार्य अझ सशक्त हुने विश्वास व्यक्त गरे। उनले ८५ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको सो भवनमा वडा कार्यालयबाट २० लाख रुपैयाँको सहयोग उपलब्ध गराइने जानकारी दिए।

शिलान्यास कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति, पदाधिकारी, स्वयंसेवक, स्थानीय समाजसेवी तथा साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सभापतिले भवन सम्पन्न भएपछि विपद् पूर्वतयारी, राहत सामग्रीको भण्डारण, तालिम तथा जनचेतना अभिवृद्धिमा भवनले ठूलो योगदान दिने विश्वास व्यक्त गरे।

भवन निर्माण नेपाल रेडक्रस कास्की शाखाको पहलमा र विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा हुँदैछ। उक्त केन्द्रले आपतकालीन तयारी तथा व्यवस्थापनलाई थप व्यवस्थित, प्रभावकारी र समयमै सेवा पुर्‍याउने बनाउने लक्ष्य राखिएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले विपद् व्यवस्थापन र मानवीय सेवाका क्षेत्रमा रेडक्रसले पुर्‍याउँदै आएको योगदानप्रति सराहना गर्दै, अझ व्यापक सहकार्य र समर्थनको आवश्यकता औँल्याए।