पोखरा, १७ बैशाख २०८२।तनहुँमा पृथ्वीराज मार्ग मर्मत तथा विस्तार आयोजनाको स्काभेटरमा आगजनी भएको छ ।
नगरपालिकाको स्वीकृत लिएर नदीजन्य पदार्थ उत्खनन्मा प्रयोग भएको निर्माण कम्पनीको स्काभेटरमा मंगलबार विहान शुक्लागण्डकी नगरपालिका- ५ मा आगजानी भएको हो ।
शुक्लागण्डकी नगरपालिकाका नगर प्रहरी प्रमुख रामशरण कार्कीका अनुसार घटनास्थलमा आगो लगाउन प्रयोग भएको कपडा फेला परेकाले घटना नियोजित रुपमा भएको हुन सक्ने अनुमान गरिएको छ ।
यता इलाका प्रहरी कार्यालयले स्काभेटर पूर्ण रुपमा जलेर नष्ट भएको जनाएको छ । शुक्लागण्डकी नगरपालिकाको दमकलले आगो निभाएपनि विहान सवेरै आगलागी भएको र सुचना ढिला प्राप्त हुदाँ क्षति रोक्न नसकिएको सहायक प्रहरी निरिक्षक प्रकाश पौडेलले जानकारी दिए । पौडेलले घटनाको विषयमा थप अनुसन्धान भईरहेको बताए ।
राष्ट्रिय गौरवका आयोजना भएका कारण सरकारी नियमानुसार वातावरणलाई प्रतिकुल असर पर्ने गरि नदीमा स्काभेटर परिचालन गरिएको बुझिएको छ ।