पोखरा, – जनआन्दोलनका घाइते तथा राजनीतिक परिवर्तनका सक्रिय साक्षी दुर्गा बहादुर बिक र अमृत बिक नेकपा (एकीकृत समाजवादी) पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्। शनिबार पोखरा–स्थित पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रममा उनीहरूलाई भव्य स्वागतसहित पार्टी प्रवेश गराइएको हो।
कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री तुल बहादुर गुरुङ, केन्द्रीय सदस्य सीता पौडेल, गण्डकी प्रदेश कमिटी अध्यक्ष कृष्ण नेपाली, उपाध्यक्ष मुक्तिनाथ पौडेल, उपसचिव बिबेक भुजेल, पोखरा महानगर अध्यक्ष प्रेम थापा, सचिव सुरज अधिकारी ‘बज्र’ लगायतका वरिष्ठ नेताहरूको उपस्थिति थियो। उनीहरूले दुर्गा बहादुर बिक र अमृत बिकलाई पार्टीको तर्फबाट खादा, फूलमाला र तालीको गडगडाहटबीच स्वागत गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै उपसचिव बिबेक भुजेलले जनआन्दोलनका घाइतेहरूको पार्टीप्रति विश्वास र सहभागिता पार्टीका लागि गौरवको विषय भएको बताए। “श्रमजिवी, सर्बहारा, किसान, मजदुर र उत्पीडित वर्गको पक्षमा बोल्ने तथा लड्ने समाजवादी विचारधारामा आधारित पार्टी रोज्नु निर्णय मात्र होइन, ऐतिहासिक सन्देश पनि हो,” उनले भने।
नवप्रवेशी दुर्गा बहादुर बिकले पार्टीमा आवद्ध हुनु आफूले पुरानो आन्दोलनको सपना साकार पार्न लिएको प्रतिबद्ध कदम भएको बताए। “यो पार्टीमा आएर म फेरि जनताको पक्षमा लड्ने अवसर पाएको छु,” उनले भने। अमृत बिकले पनि पार्टीको विचारधारासँग आफ्नो सोच मिलेकाले संलग्न हुने निर्णय गरेको बताए।
कार्यक्रममा उल्लेख्य संख्यामा स्थानीय कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। स्वागत मन्तव्य, सांस्कृतिक प्रस्तुतिहरू र उत्साहपूर्ण वातावरणले कार्यक्रमलाई झनै उल्लासमय बनाएको थियो।