“पोखरा विमानस्थललाई विवादको घेराबाट बाहिर निकालौं, सफल बनाऔं: मेयर आचार्य”

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा, वैशाख ५ –पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन अनुगमनका लागि सार्वजनिक लेखा समितिले गठन गरेको छानविन उपसमितिले निर्माणका क्रममा १४ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकालेको खबरहरू मिडियामार्फत् सार्वजनिक भएको छ ।

उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन तयार पारेपनि प्रतिवेदन सार्वजनिक भएको  छैन, भने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलजस्तो राष्ट्रिय गौरवको आयोजना अप्रमाणित आरोपका भरमा विवादमा पारिनु नहुने बताएका छन्। उनले विकासको नाममा भएका सम्भावित अनियमितता जाँचबुझ हुनु स्वाभाविक भए पनि त्यसको निष्कर्ष सार्वजनिक नभएसम्म अनुमानको भरमा प्रचारबाजी गर्नु अनुचित नहुने तर्क गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा राख्दै मेयर आचार्यले लेखेका छन्, “४० प्रतिशत बजेटमा परियोजना सम्पन्न भयो, बाँकी ६० प्रतिशत अनियमितता भयो भन्ने कुरा सुनिन्छ। के यस्तो दाबी व्यवहारिक रूपमा सम्भव छ?”

उनले तथ्य र प्रमाणविना सार्वजनिक मञ्चहरूमा एकपक्षीय निष्कर्ष निकाल्नु गलत प्रवृत्ति भएको भन्दै यस्ता राष्ट्रिय पूर्वाधारलाई पब्लिक कन्जम्प्सन र मिडिया ट्रायलको माध्यमबाट बदनाम नगरिनुपर्ने स्पष्ट पारे।

“यदि अनियमितता भएको हो भने सम्बन्धित निकायमार्फत निष्पक्ष छानबिन होस् र जो सुकै दोषी हो, उसलाई कानुनी कठघरामा उभ्याएर कारबाही गरियोस्,” उनले भने, “तर कारबाहीसँगै अबको ध्यान अन्तर्राष्ट्रिय उडान नियमित गर्नेतर्फ जानुपर्छ।”