पोखरा विमानस्थल निर्माणमा अनियमितता भए छानबिन होस्, तर विकासलाई विवादमा नपारौं : पूर्वमुख्यमन्त्री अधिकारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा — गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलजस्तो रणनीतिक र राष्ट्रिय गौरवको आयोजनालाई सधैं विवादमा पार्न नहुने स्पष्ट पारेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले विकास र पारदर्शिता दुबैलाई सन्तुलनमा राख्नुपर्नेमा जोड दिएका हुन्।

“विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सबै लागिरहेका छौं, अब आ-आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्न आवश्यक छ,” उनले लेखेका छन्। “तर यदि निर्माणमा अनियमितता भएको प्रमाणित हुन्छ भने कुनै कसर बाँकी नराखी दोषीमाथि कडा कारबाही हुनु पर्छ।”

पोखरा विमानस्थल निर्माणमा सार्वजनिक खरिद ऐनविपरीत वार्तामार्फत ६ अर्ब ५६ करोड लागत वृद्धि, कर छुटबापत २ अर्ब २२ करोड फिर्ता तथा छिनेढाँडा कटानका लागि ३२ करोडको अतिरिक्त भुक्तानी जस्ता विषयमा सार्वजनिक लेखा समितिको उपसमितिले अनुसन्धान गरी प्रतिवेदन बुझाइसकेको छ।

अधिकारीले भ्रष्टाचारप्रति कुनै सहानुभूति नदेखाउने धारणा व्यक्त गर्दै भने, “तथ्यसत्य सार्वजनिक होस्। यदि गल्ती भएको छ भने छानबिन होस्, दोषीलाई उन्मुक्ति नदिउँ। तर विमानस्थललाई राजनीतिक दाउपेच वा निरन्तर विवादको विषय नबनाऔं।”

उनले यस्तो ठूला पूर्वाधार परियोजनामा पारदर्शिता, जवाफदेहिता र निष्पक्षता कायम राख्न सकिएको खण्डमा मात्र जनविश्वास बढ्ने र राष्ट्रिय गौरवका आयोजनाले सार्थकता पाउने विश्वास व्यक्त गरेका छन्।