एमाले बैठकमा बाहिरको बहस भित्रै प्रवेश : हारको समीक्षा, पुनर्गठन र नेतृत्व हस्तान्तरणमा छलफल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने विषयसँगै निर्वाचनमा भएको पराजयको समीक्षा, संगठन सुधार, पुनर्गठन तथा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका विषयमा छलफल चर्किएको छ।

ललितपुरमा जारी बैठकमा अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्। छलफलका क्रममा पार्टीको आन्तरिक अवस्था, नेतृत्वको कार्यशैली, बैठक सञ्चालनको विधि र जनतासँग पार्टीको सम्बन्धबारे समेत प्रश्न उठेका छन्।

बैठकमा सहभागी नेताहरूका अनुसार पछिल्लो समय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिएको एमालेभित्रको बहस अहिले केन्द्रीय कमिटीको बैठक हलमै प्रवेश गरेको छ। यद्यपि नेताहरूले यसलाई पार्टी विभाजन वा नेतृत्वबीचको गम्भीर मतभेदका रूपमा बुझ्न नहुने बताएका छन्।

अध्यक्ष फेर्ने नभइ, पार्टी रिफर्म गर्ने 

एमाले सचिव महेश बस्नेतले बैठकमा अध्यक्ष परिवर्तन वा विशेष महाधिवेशन बोलाउने विषय नउठेको दाबी गरेका छन्। उनका अनुसार छलफल पार्टीको पुनर्संरचना र सुधारमा केन्द्रित छ।

‘अध्यक्षलाई फेर्ने कुरा कहिल्यै होइन । विशेष महाधिवेशन बोलाउने र त्यसको नेतृत्व गर्ने कुरा हामीले कहिल्यै गरेका छैनौँ । पार्टीलाई पुनर्संरचना अथवा रिफर्म गर्ने कुरा मात्रै गरेका हौँ,’ बस्नेतले भने, ‘अध्यक्षको सहमतिबिना हामी नयाँ अध्यक्षका दाबेदार होइनौँ।’

उनका अनुसार उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पनि अध्यक्षको राजनीतिक प्रतिवेदन र आफ्नो धारणाबीच फरक नरहेको स्पष्ट पारेका छन्।

बस्नेतका अनुसार बैठक सुरु भएदेखि खाजाको समयसम्म ४१ जना नेताले धारणा राखेका थिए। तीमध्ये चार–पाँच जनाले आलोचनात्मक धारणा राखे पनि अधिकांशले अध्यक्षको प्रतिवेदनलाई समर्थन गरेको उनको दाबी छ।

उनले संगठनलाई सुदृढ बनाउने, जनतासँग टुट्न थालेको सम्बन्ध पुनः जोड्ने र डिजिटल माध्यमबाट फैलिएका भ्रम चिर्ने गरी पार्टी अघि बढ्नुपर्ने बताए।

बैठक सञ्चालनको विधिलाई लिएर पनि असन्तुष्टि देखिएको बस्नेतले बताए। एमाले नेता कृष्णगोपाल श्रेष्ठले तोकिएको समयमा आफ्नो धारणा राख्न नपाएको विषयमा असन्तुष्टि जनाएको तथा कर्ण थापाले विधान अधिवेशनदेखि आफूले राख्न चाहेको फरक मत बैठकमा राख्न पाउनुपर्ने माग गरेको उनले जानकारी दिए।

बस्नेतले पार्टीभित्र फरक धारणा स्वाभाविक भए पनि त्यसकै आधारमा गुट निर्माण हुन नहुने बताए। अध्यक्ष र मूल नेतृत्वलाई केन्द्रमा राखेर संगठन सञ्चालन गर्नुपर्ने उनको धारणा छ।

निर्वाचन पराजयको निर्मम समीक्षा

केन्द्रीय सदस्य ठाकुर गैरेले भने निर्वाचनमा भएको पराजयको निर्मम समीक्षा गरेर देखिएका कमजोरी स्वीकार गर्नुपर्ने धारणा राखेका छन्।

उनले निर्वाचन समीक्षा तथा पुनर्गठनसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदन पनि केन्द्रीय कमिटीमा प्रस्तुत गरेर अध्यक्षको राजनीतिक प्रतिवेदनसँगै छलफल गर्नुपर्ने बताए।

‘जनस्तर वा कार्यकर्ता स्तरबाट उठेका जायज विषयलाई सम्बोधन गरेर जानुपर्छ । त्यसका लागि निर्वाचनको पराजयलाई पनि निर्ममतापूर्वक समीक्षा गर्नुपर्यो र त्यसलाई ग्रहण गर्नुपर्यो,’ गैरेले भने।

निर्वाचन समीक्षाबाट देखिएका पार्टी सुधारका एजेन्डालाई कार्यान्वयनमा लैजाने मोडेल बनाउनुपर्ने उनको भनाइ छ। त्यसक्रममा नेतृत्व पुनर्गठन, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका विषय पनि छलफलमा आउने उनले बताए।

गैरेले पार्टीलाई व्यक्तिप्रधानभन्दा नीतिप्रधान र विधिसम्मत ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए। पदाधिकारीको काम, कर्तव्य र अधिकार विधानले स्पष्ट गरेको भन्दै उनले वैधानिक व्यवस्था र पार्टीको अभ्यासलाई सँगसँगै अघि बढाउनुपर्ने बताए।

मिडियाको बहस बैठकमा प्रवेश

एमाले संगठन विभागका सचिवसमेत रहेका केन्द्रीय सदस्य आरसी लामिछानेले बाहिर भइरहेको बहस अहिले बैठकभित्र प्रवेश गरेको बताए।

‘मिडियामा गर्मागर्मी बहस भएको थियो, हाल त्यो बहस बैठक हलभित्र प्रवेश भएको छ,’ उनले भने।

उनका अनुसार बैठकको मुख्य विषय पार्टी पुनर्गठनको मोडालिटी र निर्वाचनपछि एमालेले आफूलाई कसरी पुनर्गठित गर्ने भन्ने हो। बैठकबाट जनताले उठाएका प्रश्नको चित्तबुझ्दो जवाफसहित बाहिरिनुपर्ने उनको भनाइ छ।

नेताहरूबीच मात्र समझदारी भएर नहुने भन्दै उनले पार्टीको निर्णयलाई जनताले समेत स्वीकार गर्ने वातावरण बनाउनुपर्ने बताए। उनका अनुसार एमालेका लागि अहिलेको प्रमुख चुनौती जनतासँगको सम्बन्ध पुनःस्थापित गर्ने निष्कर्षमा पुग्नु हो।

लामिछानेले पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले अध्यक्षलाई एकमतसहित प्रतिवेदन बुझाएको र कठिन परिस्थितिका बाबजुद एमाले एक ठाउँमा रहनु महत्वपूर्ण भएको बताए।

बैठक सञ्चालनमा महासचिवको भूमिकाबारे पनि केही सदस्यले प्रश्न उठाएको उनले जानकारी दिए। पार्टी विधान र व्यवहार दुवैलाई आधार बनाएर बैठक सञ्चालनको पद्धति तय गर्नुपर्ने उनको धारणा छ।

फरक मतलाई लिएर ‘अन्यथा’ मान्न नहुने

एमाले सांसद ऐनबहादुर महरले ठूलो पार्टीमा फरक–फरक दृष्टिकोण आउनु स्वाभाविक भएको बताए।

‘यति ठूलो पार्टीमा फरक दृष्टिकोण हुनु अन्यथा लिनुहुँदैन,’ उनले भने, ‘अहिलेसम्म बोल्नुभएका केन्द्रीय सदस्यहरूले पार्टी एकताको पक्षमा, पार्टीलाई सुदृढ बनाउने र तलबाट आएका विचारलाई समेटेर एमाले बलियो बनाउने कुरा गरिरहनुभएको छ।’

बैठकमा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र लोकतन्त्रको रक्षा तथा संविधानको संरक्षणलाई आगामी कार्यभारका रूपमा अघि सारिएको केन्द्रीय सदस्य गैरेले बताए। आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर संगठन परिचालन गर्ने विषय पनि अध्यक्षको राजनीतिक प्रतिवेदनमा समेटिएको उनले जानकारी दिए।

यसरी एमालेको केन्द्रीय कमिटी बैठकमा अहिले नेतृत्व परिवर्तनभन्दा पार्टी सुधार, निर्वाचन पराजयको समीक्षा, संगठन पुनर्गठन, नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरण, विधि र बैठक सञ्चालनको पद्धति तथा जनतासँगको सम्बन्ध पुनःस्थापनाको बहस मुख्य रूपमा देखिएको छ।