गृहमन्त्री सुदन गुरुङले सरकार आवश्यक पूर्वतयारीमा जुटिसकेको बताएका छन्।
पछिल्लो मौसम प्रणाली र सम्भावित जोखिमको अवस्थाबारे जानकारी लिन मंगलबार जल तथा मौसम विज्ञान विभाग पुगेका गुरुङले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाको पूर्वतयारीमा जुटिसकेको बताएका हुन्।
‘नदी तटीय क्षेत्रमा टिम मोबिलाइजेसनदेखि नागरिकलाई अलर्ट गराउने हिसाबले हामी प्लानिङमा छौं,’ उनले भने, ‘अवस्था के छ र के तयारी गर्नुपर्छ भन्ने सिलसिलामा हामीले ब्रिफिङ लिएका छौं।’
तयारीका लागि दुई दिन बाँकी रहेको र सबै अलर्ट हुनुपर्ने उनको भनाइ थियो। मन्त्री गुरुङले सुरक्षा निकायलाई अलर्ट गरिएको, उद्धार सामग्री तयारी अवस्थामा राखिएको, स्थानीय सरकारमार्फत पूर्वसूचना प्रणालीलाई प्रवाह गरिएको बताए।
उनले अब ट्रेकिङमा नजान र गएकाहरुलाई सुरक्षित ठाउँमा जान अनुरोध पनि गरे। मन्त्री गुरुङले विपद् कमाण्ड पोस्टमा सबै निकायको प्रतिनिधि रहेको भन्दै त्यहीबाट समन्वय गर्न निर्देशन दिए।
विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठलगायतले मन्त्रीद्वय श्रेष्ठ र गुरुङलाई सम्भावित विपद्को जोखिमबारे ब्रिफिङ गरेका थिए।
पश्चिमी न्यून चापीय प्रणालीले पश्चिमी नेपालको गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिमको तराई भूभागमा भारीदेखि धेरै भारी वर्षा हुने प्रक्षेपण उनीहरुले सुनाएका थिए।
जोखिमयुक्त स्थानमा उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको उनीहरुले उल्लेख गरेका थिए।