हिम्मत हेर्नुस्’ — अख्तियारमै पुगेर घुस दिन खोज्ने हाकिमलाई २ महिना जेल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा,५ बैशाख २०८२।अनुसन्धान अधिकृतलाई घुस दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा पुगेका अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटालाई बिशेष अदालतले भ्रस्टाचारी ठहर गरेको छ ।

बिशेष अदालतका न्यायाधीशत्रय रामबहादुर थापा, मुरारीबाबू श्रेष्ठ र रितेन्द्र थापाको इजलाशले सापकोटालाई दोषी ठहर गर्दै दुई महिना १५ दिन कैद र ५० हजार बिगो जरिवानाको सजाय कायम गरेको हो ।

तात्कालिन अवस्थामा नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका सापकोटा अछामको मल्लेख गाउँपालिकामा कार्यरत हुँदा मेसिनरी सामान खरिदसम्बन्धी मुद्दा मिलाइदिन भन्दै अनुसन्धान अधिकृतलाई घुस दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा पुगेका बेला गत मङ्सिरको अन्तिम साता अख्तियारको कार्यालयबाटै एक लाख रुपियाँ घुससहति समातिएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुस २५ मा सापकोटा जिल्ला नुवाकोट, किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत रहँदा विशेषमा अभियोग पत्र दायर गरेको थियो ।

मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहँदा खरिद कार्यमा अनियमितता गरेको उजुरीको आधारमा अख्तियारले छानबिन सुरु गरेको थियो । त्यसैक्रममा अनुसन्धानलाई प्रभावमा पारी अनुसन्धान टुङ्ग्याउन एक लाख रुपैयाँ घुससहित बुझाउने बहानामा अनुसन्धान अधिकृतको कार्यकक्षमा गइ रकम दिँदादिँदै सापकोटा पक्राउ परेका थिए ।