नेपाली कांग्रेसको बलियो प्रभाव रहेको दैलेखमा विशेष र नियमित महाधिवेशनको विषयलाई लिएर नेता–कार्यकर्ताहरू विभाजित देखिएका छन् । विशेष महाधिवेशनको पक्षमा खुलेका नेताहरूले बहुमत सदस्यहरू विशेष महाधिवेशनको पक्षमा रहेको दाबी गरेको छ ।
दैलेखबाट विशेष महाधिवेशनको नेतृत्व हाल कर्णाली प्रदेशसभा सदस्य, पूर्वमन्त्री कृष्णकुमार विसी, पूर्व जिल्ला सचिव भूपेन्द्र शाही लगायतले गरेका छन् । विसी पूर्वजिल्ला सभापति हुन् । यस्तै निवर्तमान सांसद दीक्पालकुमार शाही पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।
यी नेताहरू भोलिबाट काठमाडौँमा सुरु हुने विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौँ गइसकेका छन् । ‘दैलेखमा बहुमत सदस्य विशेषको पक्षमा छौँ,’ नेता भूपेन्द्र शाहीले रातोपाटीसँग भने, ‘हामी काठमाडौँ आइसकेका छौँ, कोही बाटोमा हुनुहुन्छ ।’उनका अनुसार दुईवटा निर्वाचन क्षेत्र रहेको दैलेखमा यसअघि प्रतिनिधिहरूको सङ्ख्या ५२ थियो । जसमा ३ जनाको मृत्यु भइसकेको छ भने एक जनाले पार्टी परित्याग गरिसकेका छन् । यस्तै एक जनाले राजीनामा दिएका छन् । बाँकी ४६ जनामध्ये ३२ जना विशेष महाधिवेशनको पक्षमा रहेको उनको दाबी छ । अझै केही नेताहरू खुल्ने सम्भावना रहेको पनि उनले बताए । शुक्रबार जिल्ला सभापति मणिराम रेग्मीले विशेष महाधिवेशनमा नजान प्रतिनिधिहरूलाई आग्रह गरेका थिए ।जिल्ला सचिव नारायण रेग्मीले विशेष पक्षधरको दाबीमा सत्यता नभएको बताए । उनका अनुसार, विशेषको पक्षमा २१ जना मात्रै रहेको बताए । दैलेख संस्थापन इत्तर समूह बलियो रहेको जिल्ला हो ।