पोखरा, भदौ ९-पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ‘ग्रिन सिटी, क्लिन सिटी’ अभियान अन्तर्गत शहरलाई हरियालीयुक्त बनाउने महानगरको लक्ष्यमा सबैको साझेदारी आवश्यक रहेको बताउनुभएको छ । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र परिसरमा आयोजित वृक्षारोपण कार्यक्रममा बोल्दै उहाँले महानगरको हरित शहर निर्माणको संकल्पमा सुरक्षा निकायसँगको सहकार्यले थप बल पुगेको उल्लेख गर्नुभयो ।
पोखरा महानगरपालिका र गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको साझेदारीमा तालिम केन्द्र परिसरमा विभिन्न प्रजातिका १०० फलफूलका बिरुवा रोपिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मेयर आचार्यले महानगरको २ लाख २६ हजार बिरुवा रोप्ने वृहत अभियान अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो अभियान केवल संख्यामा सीमित छैन, हाम्रो लक्ष्य पोखरालाई एक स्वच्छ, सफा र हराभरा सहरको रूपमा स्थापित गर्नु हो ।”
मेयर आचार्यले महानगर र प्रहरी तालिम केन्द्रबीच स्थापनाकालदेखि नै भौतिक विकास र विभिन्न तालिमका क्षेत्रमा हुँदै आएको सहयोग र साझेदारी भविष्यमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । ५०० भन्दा बढी प्रहरीहरूलाई तालिम दिइरहेको केन्द्रमा गरिएको वृक्षारोपणले प्रशिक्षार्थीहरूमा वातावरणीय सचेतना जगाउन समेत मद्दत पुग्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा तालिम केन्द्रका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनार्दन जिसीले महानगरपालिकासँगको सहकार्यप्रति आभार व्यक्त गर्दै रोपिएका बिरुवाको संरक्षण र सम्बर्द्धनमा तालिम केन्द्रले पूर्ण जिम्मेवारी लिने बताउनुभयो ।
उक्त अवसरमा पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष तोरण बाँनिया, महानगर वातावरण तथा पर्यटन महाशाखा प्रमुख विमल रञ्जन कार्की, प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण कार्की, अन्य जनप्रतिनिधिहरु तथा विभिन्न ओहोदाका प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । यो कार्यक्रमले पोखरा महानगरपालिकाको हरित शहर निर्माण अभियानमा एक महत्वपूर्ण कोशेढुंगा साबित हुने अपेक्षा गरिएको छ ।