मेयर आचार्यले भने तीज शुभकामना: “संस्कृतिको संरक्षण गर्दै पर्व मनाऔँ”

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले तीज पर्वलाई यसको मौलिकता जोगाउँदै सांस्कृतिक संरक्षणमा जोड दिएर मनाउन आग्रह गर्नुभएको छ ।

मेयर आचार्यले  तीज पर्वले पारिवारिक एवं सामाजिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै महिलाहरूलाई आफ्ना सुखदुःख र भावनाहरू साटासाट गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताउनुभएको छ ।पौराणिक कालमा देवी पार्वतीले भगवान् शिवलाई पति पाऊँ भनी गरेको कठोर तपस्या र व्रतको सम्झनामा मनाइने यो पर्वको धार्मिक र सांस्कृतिक महत्त्व अतुलनीय रहेको उहाँको भनाइ छ ।

विगतमा चेलीबेटीहरू माइत आउने, आफ्ना वेदना र अनुभूतिहरू गीतका माध्यमबाट पोख्ने र सामूहिक रूपमा दुःखसुःख बाँड्ने माध्यमको रूपमा रहेको तीज पर्वमा पछिल्लो समय केही विकृतिहरू देखिन थालेको प्रति चिन्ता व्यक्त गर्दै मेयर आचार्यले भड्किलो र खर्चिलो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।“हाम्रा चाडपर्वहरू हाम्रो पहिचान हुन् । यिनको सांस्कृतिक महत्वलाई जीवन्त राख्नु हाम्रो कर्तव्य हो,” उहाँले भन्नुभयो, “देखासिकी र प्रतिस्पर्धाले गर्दा तीजको मौलिकता हराउँदै गएको छ ।हामी सबै मिलेर यसलाई रोक्नुपर्छ र मितव्ययी ढंगले पर्व मनाउनुपर्छ ।”

तीजको सांस्कृतिक पक्षले महिलाहरूलाई स्वतन्त्रताको सन्देश दिने र पराई घरमा भोगेका अन्याय, अत्याचारलाई गीत मार्फत व्यक्त गर्ने अवसर दिने गरेको थियो ।तर, आधुनिकताको नाममा भित्रिएका उच्छृङ्खल गतिविधिले पर्वको गरिमामाथि प्रश्न उठाएको छ ।मेयर आचार्यले समाजका सबै पक्षलाई चाडपर्वभित्रका नकारात्मक पक्षहरूलाई हटाउँदै सकारात्मक सन्देश प्रवाह गर्न र सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको छ ।

हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी शिव-पार्वतीको पूजा आराधना गरी मनाइन्छ ।अघिल्लो दिन राति दर खाएर सुरु हुने यो पर्व पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि समापन हुन्छ ।यस पर्वले पारिवारिक जमघट, आपसी सद्भाव र सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिन्छ ।