सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने कार्य सम्पन्न भएको छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा सीमा स्तम्भहरू गाड्ने काम सम्पन्न भएको हो ।
ताल घरको सिमानामा १०५५ डिजिटल पिल्लरहरु गाडिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ६११ सिमेन्टेड (कंक्रिटका) पिल्लरहरु गाडिएको छ ।
फेवाताल संरक्षणका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको आदेशाानुसार महानगरपालिकाले सम्बद्ध निकायहरूसँग समन्वय गरी थप कार्यहरू गर्दै जाने नगर प्रमुख धनराज आचार्यले बताउनुभएको छ । फेवाताल संरक्षणका सम्बन्धमा एक ऐतिहासिक कार्य महानगरपालिकाको अगुवाइमा भएको र यस कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न भएर साथ र सहयोग गर्ने सम्वद्ध सवै निकायहरु प्रति उहाँले आभार समेत व्यक्त गर्नुभएको छ ।
करिब ४५ दिनको समयावधिमा तालको सिमांकन कार्यमा खटिएका प्रााविधिक, कर्मचारी, नगर प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायत सम्वद्ध सवैपक्षलाई उहाँले धन्यवाद समेत दिनुभयो । पहिलो चरणमा ताल घरमा सीमा स्तम्भ गाड्ने र दोस्रो चरणमा थप कामको सुरुवात गर्ने महानगरपालिकाको योजना रहेको छ ।
तालको ६.३४३ वर्ग किलोमिटर क्षेत्रफलको चार किल्लामा १०५५ पोलहरू गाडिएका छन् । यसले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्त्व राख्ने विश्वास गरिएको छ ।