स्कुटर मिनिट्रकको पछाडि ठोक्कियो, एकको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

तनहुँको व्यास नगरपालिका–१ अम्रेनीस्थित पृथ्वीराजमार्गमा सोमबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान करिब ११:५५ बजे डुम्रेबाट दमौलीतर्फ गइरहेको ग २२ प ३९८९ नम्बरको स्कुटर अगाडि सडकको बाँया पट्टी रोकी राखिएको बा १ क ८७१४ नम्बरको मिनिट्रकको पछाडि ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा व्यास नगरपालिका–१२ छिर्कन निवासी करिब २५ वर्षीय सागर न्यौपाने र करिब ६० वर्षीया कृष्णमाया पन्त घाइते भएका थिए। दुवै जनालाई तत्काल रत्नहरी अस्पतालमा उपचारका लागि पठाइएकोमा सागर न्यौपानेको उपचारको क्रममा दिउँसो १२:३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते कृष्णमाया पन्तलाई थप उपचारका लागि पोखराको गण्डकी अस्पतालमा रिफर गरिएको छ।

दुर्घटनामा संलग्न दुबै सवारी साधन जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा रहेको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी अशोक थापाले जानकारी दिए |