पोखरा, असार ३० — पोखरा महानगरपालिका–२२ अन्तर्गत छोरेपाटनदेखि छापासम्मको सडक खण्डमा आज सोमबार बिहान ७:३० बजे सुरु भएको बृहत सरसफाइ तथा वृक्षरोपण कार्यक्रम उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ।
सडक छेउछाउको फोहोर संकलनसँगै कल्कि, मिनि गुलमोहर, परिजात, घुपी लगायतका फूलका बिरुवा रोपिँदै वातावरणीय सौन्दर्य बढाउने कार्यमा सक्रिय सहभागिता देखिएको थियो।
वडा सदस्य कृष्णकुमारी देवकोटाले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै वातावरणीय सचेतना र सरसफाइमा सामुदायिक संलग्नता अपरिहार्य रहेको धारणा राख्नुभयो।
कार्यक्रम वडा युवा परिषदको समन्वयमा सम्पन्न भएको हो। संयुक्त आयोजकका रूपमा वडा युवा परिषद, कालीमाटी शान्ति स्तुपा टोल विकास संस्था, कादि शान्ति स्तुपा टोल विकास संस्था, सृजनशील क्लब, विभिन्न आमा समूहहरू, अन्य सहयोगी संघ–संस्था, Lotus Training Institute तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा वडा युवा परिषदका अध्यक्ष दिनेश बरालले यस्ता अभियानलाई निरन्तरता दिँदै स्थानीय क्लब र संस्थासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।