पोखरा घुम्न आएकी बुटवलकी महिलाको होटलको छतबाट खसेर मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवलबाट पोखरा घुम्न आएकी महिलाको होटलको छतबाट खसेर मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१७ रानीगन्जकी ३२ वर्षीय सरिता भण्डारी गएराति पोखरा–६ डिहिकोपाटनस्थित होटलको पाँचौं तलाबाट खसेको अवस्थामा भेटिएकी हुन् ।

उनी श्रीमान् र २ छोरासहित बिहीबार पोखरा आएकी थिइन् । शुक्रबार राति श्रीमान्–श्रीमती होटलको पाँचौं तलामा कुर्सीमा बसेका थिए । मध्यराति साढे १२ बजे उनी पाँचौं तलाबाट ५५ फिट तल होटलको प्रवेशद्वारमा खसेकी थिइन् । उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकामा चिकित्सकले १ बजेर २ मिनेट जाँदा मृत घोषित गरेका थिए ।

घटनास्थलमा सीसीटिभी नरहेकाले उनको हत्या, आत्महत्या वा भवितव्य भएको भन्ने खुलेको छैन । सोधपुछका लागि श्रीमान् ३८ वर्षीय लक्ष्मण भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए । उनी वडा प्रहरी कार्यालय बैदामको हिरासतमा छन् । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि थप अनुसन्धान अगाडि बढ्ने प्रहरीले बताएको छ । घटनाबारे जानकारी पाएपछि मृतकका परिवार बस रिजर्भ गरेर शनिबार बिहान पोखरा आइपुगेका छन् ।