पोखरा ।पोखरा महानगरपालिका वडा नं.२५ हेमजामा ३५ वर्ष माथिको उमेर समूहका खेलाडीहरूको सहभागितामा अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । गौरीशंकर खेल मैदानमा सुरु प्रतियोगिताको शनिबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।
सो अवसरमा नगर प्रमुख आचार्यले आफूहरू महानगर क्षेत्रको समग्र खेलकुद विकास लागि प्रतिबद्ध रहेको बताए । उनले खेल पूर्वाधारको विकास तथा निर्माण, खेलाडीहरूको क्षमता विकास तथा प्रोत्साहन, खेल चेतनाको विकास, विद्यालय तथा समुदाय स्तरमा खेलकुदको भावना जागरण लगायत कार्यहरूमा महानगरपालिकाले काम गरिरहेको उल्लेख गरे ।
पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाले खेलकुदको विकासका लागि वडा स्तरमा विभिन्न गतिविधिहरू भइरहेको बताए । महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले स्वस्थ नागरिक निर्माणका लागि खेलकुदलाई समेत प्राथमिकता दिनुपर्ने धारणा राखे।
आयोजक हेमजा युनाइटेड क्लबका अध्यक्ष कृष्णमान श्रेष्ठका अनुसार प्रतियोगितामा १३ समूहको सहभागिता छ । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार १११ रुपैयाँ र द्धितिय पुरस्कार ५५ हजार ५५५ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।