पोखरामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा ।पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पोखरामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरू भएको छ । महानगरको न्यायिक समितिको आयोजनामा सुरु तालिमको पोखरा महानगरका प्रमुख धनराज आचार्यले शनिबार उद्घाटन गरेका हुन् ।

तालिम उद्घाटन गर्दै प्रमुख आचार्यले ठूलाठूला युद्धको समेत वार्तामा बसेर र मेलमिलापबाट नै समाधान निकालिने भएकाले जसनसुकै विवादमा पनि समयमै मेलमिलाप गराउन सकिए समस्या नलम्बिने बताए ।

प्रमुख आचार्यले अहिले नकारात्मक धारण बढिरहेका बेला मेलमिलापकर्ताले वार्ता र सम्बाधको माध्यमबाट सकारात्मक बाटो तर्फ लैजानुपर्ने धारणा राखे । ‘ठूलठूला युद्धहरु पनि वार्ताको माध्यमबाट नै समस्या समाधान हुने हो । त्यसैले मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण छ’ उनले भने । विवाद ससाना विषयबाट नै सुरु भएर ठूलोरुप लिने भन्दै वडा तहमै प्रारम्भिक विवादमा मेलमिलाप गराउन सके समयको बचत हुनुका साथै क्षति कम हुने प्रमुख आचार्यको धारणा थियो ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले तीन वटा ‘अ’ सकेसम्म जान नहुने धारण राखिन् । ‘अदालत, अख्तियार र अस्पताल सकेसम्म जान नपरोस भन्ने भनाई छ,’ उनले भनिन् ‘त्यसो भन्दाभन्दै पनि मानिसहरु अदालत गइरहेकै छन्, अख्तियार धाइरहेकै छन् र अस्पतालपनि जान परिरहेकै छ । सकेसम्म कसैलाई पनि जान नपरोस् ।

पोखरा महानगर न्यायिक समितिकी संयोजक समेत रहेकी गुरुङले महानगरपालिकाको क्षेत्राधिकार भित्र नपर्ने धेरै विषय झगडीयासंगै राखेर सम्बाद गराउँदा मिल्ने गरेको अनुभव सुनाइन् ।

सम्बन्ध विच्छेद जस्ता मुद्दामा वारेस नराखी स्वयम झगडीया नै राख्ने व्यवस्था गर्नसके बिच्छेद गर्ने अवस्थासम्म नपुग्ने उनको भनाई थियो । ‘सम्बन्ध विच्छेद हाम्रो क्षेत्रा धिकार होइन । तर, हामीकहाँ आएकालाई राखेर सकेसम्म मिलाएर पठाउने गरेका छौं । यस्ता मुद्दामा वारेस राख्न पाउने व्यवस्था नभएर दुबैजनालाई आम्नेसम्ने कुरा गराउन पाउँदा  दुबैको भावना धेरै बुझीने र बुझाउन पाउँदा समस्या हल हुने उनको भनाई छ ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर २५ का वडाध्यक्ष मातिलाल तिमिल्सिना, एमाले दलका नेता एवं वडानम्बर १७ की वडाध्यक्ष राधिका शाही योगी, न्यायिक समिति सदस्य रजनी परियार, कालिदाश पोखरेल, उजुरी प्रशासन शाखाका प्रमुख नारायण प्रसाद शर्मा र मेलमिलापकर्ता संयोजक सोम लाम्साल लगायतले मेलमिलापकर्ता, उनीहरुको महत्व र कामका बारेमा बोलेका थिए ।

सामुदायिक मेलमिलाप समाजको सहजिकरणमा शनिबार देखि सुरु तालिम १७ जेठसम्म सञ्चालन हुनेछ । तालिममा ३३ जना प्रशिक्षार्थीको सहभागीता छ ।