गण्डकी प्रदेशका पालिकाको बेरुजु १४ अर्ब, असुल गर्नुपर्ने २२ प्रतिशत

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा । गण्डकी प्रदेशभित्रका ८५ वटा पालिकामा बेरुजु १४ अर्ब पुगेको छ । गत वर्षसम्म १२ अर्ब ३५ करोड बेरुजु रहेकामा आर्थिक वर्ष २०८०/०८१ मा २ अर्ब २७ करोड थप भएको हो ।

अघिल्लो वर्ष सम्परीक्षणबाट ६६ करोड ९५ लाख फर्स्यौट भएको थियो । पछिल्लो लेखापरीक्षण सहित १३ अर्ब ९५ करोड अद्यावधिक बेरुजु बाँकी रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

एउटा महानगरको ५० करोड ४३ लाख बेरुजु छ भने २६ वटा नगरपालिकाको ८३ करोड ७५ लाख तथा ५८ गाउँपालिकाको ९२ करोड ८६ लाख बेरुजु थपिएको छ ।पछिल्लो वर्षको बेरुजु मध्ये असुल गर्नुपर्ने २२ प्रतिशत छ । ५० करोड ९१ लाख रुपैयाँ असुल गर्नुपर्ने खालको बेरुजु रहेको महालेखा परीक्षकले देखाएको छ ।नियमित गर्नुपर्ने ६८ प्रतिशत अर्थात १ अर्ब ५५ करोड र पेस्की बेरुजु २० करोड २६ लाख अर्थात् ९ प्रतिशत छ । गण्डकीमा सबैभन्दा बढी बेरुजु पोखरा महानगरपालिकामा ५० करोड ४३ लाख छ भने सबैभन्दा कम चुमनुब्री गाउँपालिकामा ३ लाख ४२ हजार मात्रै छ । धेरै बेरुजु हुनेहरूमा प्रतिशतका हिसाबले सबैभन्दा धेरै मनाङ ङिस्याङमा ५ करोड ४७ लाख छ । ४० करोड ११ लाखको लेखापरीक्षण गरिएकोमा १३.६५ प्रतिशत बेरुजु देखिएको हो ।

५ करोड भन्दा बढी बेरुजु हुने अधिकांश नगरपालिका छन् । जैमिनी ६ करोड ७ लाख, पालुङटारमा ५ करोड ३५ लाख, व्यासमा ५ करोड ९७ लाख, कुस्मामा ५ करोड १ लाख, गैँडाकोटमा ५ करोड ९७ लाख रुपैयाँ बेरुजु छ ।

गण्डकीमा १ अर्ब १८ अर्बको लेखापरीक्षण गरिएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न शीर्षकमा सङ्घबाट ३५ अर्ब २० करोड विनियोजन भएकोमा ३१ अर्ब ७६ करोड मात्रै हस्तान्तरण गरेको थियो भने प्रदेशबाट २ अर्ब १० करोड विनियोजन भएकोमा १ अर्ब ५२ करोड हस्तान्तरण भएको थियो ।

पालिकाहरूले ३ अर्ब ६१ करोड आन्तरिक आम्दानी गरेका छन् । गत वर्षको जिम्मेवारी ८ अर्ब ४० करोड र यो वर्षको ३ अर्ब ६१ करोड मध्ये ५९ अर्ब ९१ करोड रुपैयाँ खर्च भएको छ ।

कूल खर्चमध्ये चालूतर्फ ३२ अर्ब २९ करोड र पूँजीगत तर्फ १५ अर्ब ६३ करोड पैयाँ तथा अन्य खर्च ११ अर्ब ९८ करोड छ । ६ अर्ब ८६ करोड चालू वर्षको लागि जिम्मेवारी सारेका छन् ।