बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई आइतबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-५ घर भएकी ३३ वर्षीया नेहा अधिकारी र काठमाडौँ महानगरपालिका-२६ सामाखुसी बस्ने गोरखा, गोरखा नगरपालिका-४ पोखरीथोक घर भएकी ४१ वर्षीया सविना शाक्य रहेका छन् ।

जिल्ला अदालत काठमाडौँ र जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा पक्राउ अनुमती जारी भई फरार रहेकी नेहालाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट र जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेकी सविनालाई काठमाडौँ महानगरपालिका-२८ डिल्लीबजारबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ मध्ये नेहालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर र सविनालाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ । यसैगरी, ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका-६ बौद्ध बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका-५ घर भएका ४१ वर्षीय दिनेश गौतमलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौँबाट २०८१ फागुन १ गते ठगी मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ बौद्धबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।