कैलालीको लम्कीचुहा नगरपालिका–१, लम्की चौहाराका भूपेन्द्र बडुवालको हत्या घटनामा कैलाली जिल्ला अदालतले १३ जनालाई दोषी ठहर गरेको छ । जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले ६ जनालाई जीवित रहेसम्म (आजीवन) र सातजनालाई जन्मकैदको फैसला गरेको हो ।
प्रतिवादी नविन रावल, आर्यन देवकोटा, रोशनबहादुर शाही अनुज भन्ने चिरञ्जीविजंग शाही, रोहित आले र हिमाल शाहीलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम जिवित रहेसम्म (आजिवन) जन्मकैदको सजाय हुने ठहर भएको फैसलाको संक्षित व्यहोरामा उल्लेख गरिएको छ । त्यस्तै मदन शाही, हेमन्त शाही, धिरज भन्ने दिपेन्द्र शाही, गोलु भन्ने निशान्त मल्ल र शोहन शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (१) बमोजिम जन्मकैद सजाय हुने फैसला भएको कैलाली जिल्ला अदालतका सूचना अधिकारी पंकज उपाध्यायले जानकारी दिए ।
प्रतिवादी लोकेन्द्र कुँवर र सुविनजंग शाहीलाई अभियोग दावी बमोजिम जन्मकैदको सजाय हुने ठहर भएको छ । अशोक रावल, महेश रावल, जयन्द्र शाह, विकास खड्का, प्रविन रिमाल, विकास शेरचन थकाली र कपिल श्रेष्ठसमेत सात जनाले सफाइ पाएका छन् । पुरपक्षका लागि थुनामा रहेका उनीहरु सफाइ पाएसँगै रिहा हुनेछन् । दोषी ठहर भएका १३ जनाले १५ लाख रुपैयाँ दामासाहीले पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला पनि अदालतले गरेको सूचना अधिकारी उपाध्यायले जानकारी दिए । त्यस्तै दोषी ठहर भएका व्यक्तिबाट कानुनबमोजिम जनही दुई हजार आठ सय रुपैयाँ पीडित राहत कोषमा दाखिला गर्नुपर्ने फैसला पनि अदालतले गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले भुपेन्द्र हत्या घटनामा २१ जनालाई प्रतिवादी बनाएर २६ फागुन २०७८ मा अदालतमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो । अभियुक्तमध्ये एकजना लोकजंग शाही फरार छन् भने जयन्द्र शाह धरौटीमा रिहा भएका थिए । फरार रहेका शाहीको हकमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १८ बमोजिम मुद्दा मुल्तबीमा राख्ने ठहर भएको छ । फैसलाको पूर्ण पाठ आउन भने केही समय लाग्ने अदालतले जनाएको छ । यही २३ पुसदेखि निरन्तर सुनुवाइ भएको यो मुद्दाको अन्तिम सुनुवाइ सोमबार भएको थियो ।
२३ वर्षीय बडुवालको २०७८, २३ कार्तिक बेलुकी टीकापुरमा धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो । लम्की, चिसापानी र टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ संकलन, वनपैदावारलगायतका ठेक्कापट्टामा बर्चश्व जमाउँदै आएको एकै समूहबिच मनमुटाव र बैमनस्यका कारण घटना भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । प्रहरी अनुसन्धानले देखाएअनुसार अर्काे समूहले भुपेन्द्रलाई करिब दुई किलोमिटरसम्म लखेटेर टीकापुरको सिद्धार्थ होटेल नजिकै उनीमाथि धारिलो हतियार प्रहार गरेको थियो । घटनाका बेला अधिकांश अभियुक्त २० देखि २५ वर्ष उमेर समूहका थिए ।