नसर्ने रोग र मानसिक स्वास्थ्य प्रतिकार्य सुदृढ गर्न क्षेत्रीय सम्मेलन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नसर्ने रोग र मानसिक स्वास्थ्य प्रतिकार्य सुदृढ गर्न क्षेत्रीय सम्मेलन एसियाली क्षेत्रमा नसर्ने रोग र मानसिक स्वास्थ्य प्रतिकार्यलाई सुदृढ गर्ने उद्देश्यले ललितपुरमा हिजो सोमबार क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ ।

‘संयुक्त राष्ट्र संघको उच्च–स्तरीय बैठक–२०२५ पछिको उत्तरदायित्वलाई सुदृढ गर्दै’ भन्ने नाराका साथ आयोजित यस सम्मेलनको आयोजना एसईएआर एनसीडी एलायन्सले गरेको थियो भने नेपाल एनसीडी एलायन्स सह–आयोजक रहेको थियो । सम्मेलनमा विश्व स्वास्थ्य संगठन, नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विभिन्न देशका एनसीडी एलायन्सहरू, नागरिक समाज, विशेषज्ञहरू र नसर्ने रोग भएका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्मेलनले दक्षिण–पूर्वी एसियामा नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याले पारेको गम्भीर जनस्वास्थ्य र सामाजिक–आर्थिक प्रभावलाई मुख्य केन्द्रविन्दुमा राख्यो । यस क्षेत्रमा अल्पायुमै हुने मृत्यु र अपाङ्गताको ठुलो हिस्सा यी रोगहरूले ओगटेको सन्दर्भमा सन् २०३० को दिगो विकास लक्ष्य प्राप्तिका लागि भइरहेको प्रगति असमान देखिएकोमा सहभागीहरूले चिन्ता व्यक्त गरे । सन् २०२५ को संयुक्त राष्ट्र संघको उच्च–स्तरीय बैठकले दिएको नवीकृत राजनीतिक प्रतिबद्धतालाई अब ठोस क्षेत्रीय र राष्ट्रिय कार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइएको थियो ।

छलफलका क्रममा विश्वव्यापी स्वास्थ्य पहुँच, समानता र मानवअधिकार सम्बन्धी प्रतिबद्धतालाई व्यवहारमा उतार्न आवश्यक रहेको बताइएको छ । नसर्ने रोग र मानसिक स्वास्थ्य प्रतिकार्यको आवधिक समीक्षाका लागि संयुक्त राष्ट्र संघको महासभा, डब्ल्यूएचओ कार्यकारी बोर्ड र विश्व स्वास्थ्य सभाजस्ता संयन्त्रहरूको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालियो ।

रणनीतिक कार्यका लागि राष्ट्रियस्तरमा बहुक्षेत्रीय एनसीडी र मानसिक स्वास्थ्य रणनीतिहरूको तर्जुमा, वित्तपोषण र कार्यान्वयनलाई तीव्रता दिन आह्वान गरिएको छ । स्वास्थ्य क्षेत्र मात्र नभई शिक्षा, वित्त, श्रम, वातावरण र सामाजिक सुरक्षाजस्ता विभिन्न निकायहरू बीच नीतिगत सामञ्जस्यता कायम गर्नु अपरिहार्य रहेको औंल्याइएको थियो । यस प्रक्रियामा नागरिक समाज, समुदाय र विशेष गरी नसर्ने रोग तथा मानसिक स्वास्थ्य अवस्था भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा सहभागीहरू एकमत थिए । नेपाल, बंगलादेश, श्रीलंका, इन्डोनेसिया, माल्दिभ्स, भारत, मलेसिया, थाइल्यान्ड र बेलायतका प्रतिनिधिहरू यस कार्यक्रममा सहभागी थिए ।

एसईएआर एनसीडी एलायन्सकी सचिव रुक्मणिता प्याकुरेलका अनुसार राजनीतिक घोषणापत्रमा विश्वभर सूर्तीजन्य पदार्थ प्रयोग गर्नेहरूको संख्या १५० लाखले घटाउने, उच्च रक्तचाप भएका १५० लाख मानिसहरूको रक्तचाप नियन्त्रणमा ल्याउने र थप १५० लाख मानिसहरूमा मानसिक स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्यहरू तोकिएका छन्, यी लक्ष्यहरूले नसर्ने रोगको भार कम गर्न विश्वव्यापी मार्गचित्र प्रदान गर्ने उनको भनाइ छ ।

rukminita

स्वास्थ्य मन्त्री डा सुधा शर्मा गौतम र काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नसर्ने रोगको प्रतिकार्य कुनै एक संस्था वा देशको मात्र जिम्मेवारी नभएको भन्दै यसमा संघीय, प्रादेशिक र स्थानीय तहका सरकारबिच समन्वय अपरिहार्य रहेको बताए । स्वास्थ्य क्षेत्रले मात्र यसको भार थाम्न नसक्ने भन्दै यसमा अर्थ मन्त्रालय र कृषि मन्त्रालयजस्ता अन्य सरोकारवाला निकायहरूको पनि सक्रिय भूमिका हुनुपर्नेमा उनीहरूले जोड दिए ।

सम्मेलनको अन्त्यम, नसर्ने रोग भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै अनुगमन र रिपोर्टिङ प्रणालीलाई थप पारदर्शी र प्रमाण–आधारित बनाउन सहभागीहरूले प्रतिबद्धता व्यक्त गरेका थिए ।
डब्लुएचओको विश्वव्यापी अनुगमन खाका र दिगो विकास लक्ष्यका सूचकहरूलाई आधार मानी राष्ट्रिय स्वास्थ्य सूचना प्रणालीलाई समानता–केन्द्रित बनाउनुपर्ने सुझावसमेत दिइएको थियो ।