
तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको गाडीको उत्खनन कार्य आज पनि जारी छ।
आइतबार बिहान सिमलतालभन्दा केही तल त्रिशूली नदीको किनारमा गाडीका पार्टपुर्जा देखिएको सूचना प्राप्त भएपछि खोज तथा उत्खननका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानुबाट टोली खटिएको थियो।
नदी किनारमा देखिएका पार्टपुर्जा २०८१ असार २८ गते बिहान चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले पुरेर त्रिशूली नदीमा बेपत्ता भएको गाडी हुनसक्ने आशंका गरिएको छ।
वीरगञ्जबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस पहिरोले पुरिएर नदीमा बेपत्ता भएका थिए।
उत्खनन तथा थप पहिचानको काम जारी रहेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।