समानुपातिक बन्दसूचीबाट नाम फिर्ताले दलहरूमा हलचल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दलहरूले बुझाएको समानुपातिक बन्दसूचीबाट ५४ जनाले नाम फिर्ताका लागि निवेदन दिएपछि हलचल पैदा भएको छ। सबैभन्दा बढी हलचल नयाँ भनिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिएको हो। रास्वपाबाट डा. महेन्द्र लावती, त्रिशला गुरुङ, सचिन ढकाल, आसिफ शाह र टासी ल्हाक्पा शेर्पाले समानुपातिक उम्मेदवारी फिर्ता लिएका छन्।

उनीहरूमध्ये केही उज्यालो नेपाल पार्टी र केही बालेन साह समूहबाट गएका थिए। विवेकशील साझाबाट रास्वपा गएकी रञ्जु दर्शनाले पनि सामानुपातिकको बन्द सूचीबाट नाम फिर्ता लिन निवेदन दिएकी छन्। रास्वपाले रन्जुलाई बन्दसूचीमा खस–आर्य महिलातर्फ १०औं स्थानमा राखेको थियो। उनले पार्टीको प्राइमरी इलेक्सनमा महिलातर्फ सर्वाधिक भोट ल्याएकी थिइन्। तर उनलाई प्राथमिकताको क्रममा तल झारिएिपछि विरोध भएको थियो। रास्वपाले हिजो बन्दसूचीमा व्यापक संशोधन गरे पनि रन्जुलाई अगाडि राख्न चाहेन।

उम्मेदवारी फिर्ता लिन निवेदन दिनेमा धेरै जनमत पार्टीका छन्। नाम फिर्ताका लागि जनमत पार्टीका २० जनाले निवेदन दिएका छन्। त्यसपछि रास्वपाका १२ र नेकपा एमालेका पाँच जना रहेको निर्वाचन आयोगले जनाएको छ। एमालेका खस–आर्यतर्फ नाम राखेका ठाकुरप्रसाद शर्मा, मधेसी महिलातर्फ अंशु सिंह, आदिवासी जनजातितर्फ विजयसिंह लामाले नाम फिर्ताका लागि निवेदन दिएका हुन्। सोमबार साँझसम्म ६१ जनाले नाम फिर्ताको निवेदन दिएका छन्। उनीहरूको नाम फिर्ता भए पनि सम्बन्धित पार्टीहरूमा एक प्रकारको विवाद रहेको पुष्टि भएको छ।
बन्दसूचीमा नाम रहेका व्यक्तिहरू स्वयं उपस्थित भएर नाम फिर्ता लिन निवेदन दिइरहेको बताइएको छ।

पुस १३ र १४ गते ५८ चुनाव चिह्नबाट चुनावमा प्रतिस्पर्धा गर्ने गरी ६४ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका थिए। प्रतिनिधिसभाको दुई सय ७५ सिटमा एक सय १० जना समानुपातिक प्रणालीबाट छानिन्छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र समानुपातिक सूचीको विषयले तनाव उत्पन्न गरेको छ। पार्टी नेतृत्वले आफूनिकटका व्यक्तिहरूलाई उम्मेदवार बनाउन निर्वाचन आयोगमा बुझाइसकेको समानुपातिकको सूची नै हेरफेर गरेपछि पञ्चा सिंह, करुणा बस्नेतलगायत असन्तुष्ट भएका छन्। नेकपाले हेरफेर गर्दै पहिलो नम्बरमा भएकाको नाम आठौँ नम्बरमा, तेस्रो र चौथो नम्बरमा भएका पूर्वमाओवादीबाट समानुपातिक सूचीमा रहेका नेताहरूको नाम हटाइएको भन्दै विवाद बढेको हो। खस–आर्यको चौथो नम्बरमा नाम भएकी अखिल क्रान्तिकारीकी पूर्वअध्यक्ष पञ्चा सिंहको नाम समानुपातिक सूचीबाट हटाइएको स्रोतको दाबी छ। उनी पार्टीमा जनार्दन शर्मानिकट थिइन्।

सिंहले आफ्नो नाम समानुपातिक सूचीबाट हटेको जानकारी फेसबुकबाट दिएकी छन्। ‘पार्टीको आन्तरिक जनशक्ति व्यवस्थापन तथा एकता प्रक्रियामा सामेल भएका अन्य राजनीतिक घटकहरूको समेत समुचित व्यवस्थापन गर्नुपर्ने विशेष परिस्थितिका कारण पार्टीले बन्दसूचीमा केही परिमार्जन गरेको छ। पार्टीको सांगठनिक निर्णय र आवश्यकताबमोजिम परिमार्जित सूची निर्वाचन आयोगमा पुन: परिमार्जित गर्ने क्रममा मेरो नाम बन्द सूचीबाट हटेको जानकारी गराउँछु,’ उनले भनेकी छन्। पहिलो नम्बरमा भएको करुणा बस्नेतको नाम आठौं नम्बरमा पुर्‍याइएको छ।

यसैबिच जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल का नेताहरूले दुवै पार्टीको एउटै समानुपातिक सूची बनाउने गरी निर्वाचन आयोगमा छलफल थालेका छन्। जसपा नेपाल र लोसपा नेपालले निर्वाचन आयोगमा छुट्टाछुट्टै समानुपातिकतर्फको बन्दसूची बुझाएका थिए। तर दुई पार्टीहरूबिच एकीकरण भएपछि एउटै समानुपातिक सूची बनाउन नेताहरूले छलफल थालेका हुन्। दुवै पार्टीका नेताहरूले आयोगका प्रमुख निर्वाचन आयुक्तसँग भेट पनि गरेका छन्। त्यसपछि दुवै पार्टीका गरी समानुपातिक सूचीमा एक सय १० जना कायम गर्न काम गरिरहेका छन्।