राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समानुपातिक उम्मेदवार सूची सच्याउन माग गर्दै महिला नेतृहरू पार्टी केन्द्रीय कार्यालय पुगेपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ। सूची सच्याउन दबाब दिन पुगेका महिला नेतृहरू र पार्टी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामाबिच कार्यालयपरिसरमै झडप भएको बताइएको छ।
महिला नेतृहरूले समानुपातिक सूचीमा देखिएको परिवारवाद र अवसरवादको अन्त्य गर्न माग गर्दै पार्टी कार्यालयमा विज्ञप्ति बुझाएका छन्। उनीहरूले अनशनसमेत सुरु गरेका छन्। समानुपातिक प्रणालीलाई सीमित व्यक्तिको पारिवारिक स्वार्थका लागि प्रयोग गरिएको उनीहरूको आरोप छ।
परिवारका सदस्य मात्रै समानुपातिकबाट तीनजना र गठबन्धनमार्फत थप एकजना अघि सारिएको उल्लेख गर्दै महिला नेतृहरूले कडा आपत्ति जनाएका छन्।
चम्पा अधिकारीसहितका नेतृहरूले राप्रपा कुनै एक व्यक्ति वा उसको परिवारको पार्टी नभएको भन्दै माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
