हास्यशृंखला ‘हल्का रमाइलो’की पात्र ‘पुक्कु’लाई जतिले चिन्छन्, पुजन घिमिरेलाई कमले पात्र । पुक्कुले पुजनको वास्तविक नामलाई ओझेल पारिदिएको छ । यसलाई उनको पात्र नाम सफल भएको रूपमा लिनुपर्छ ।
सानो पर्दामार्फत दर्शकको मनमा बस्दै आएकी पुजन अब ठुलो पर्दामा छाउने तयारीमा छिन् । उनको डेब्यु फिल्म ‘गोबर गणेश’ माघ १ गतेबाट प्रदर्शनमा आउँदैछ ।
सानो पर्दाको लोकप्रियतालाई कायम राख्दै ठुलो पर्दामा सफलतामा बदल्ने चुनौती उनीसामु छ । त्यसैले फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा उनको मुटुको ढुकढुकी बढेको छ । ‘सपनाहरू पूरा हुँदैछन्, रमाइलै लागिरहेको छ । दर्शकले मलाई वर्षौँदेखि ‘हल्का रमाइलो’मा ‘पुक्कु’ को रूपमा देखिरहेका छन्,’ उनी भन्छन्, ‘मान्छेहरूले मलाई पर्दामा देख्दा फेरि पनि ‘पुक्कु’ नै भनिदिने हुन् कि भन्ने अलिअलि डर छ ।’
फिल्मको ट्रेलर सार्वजनिक भएदेखि नै सकारात्मक प्रतिक्रिया मिलिरहेकाले उनी आशावादी देखिएकी छन् । ‘हामीले ट्रेलर ल्याउँदा कहिल्यै सोचेका थिएनौँ कि यो ट्रेन्डिङमा पुग्ला, प्रतिक्रिया यति धेरै सकारात्मक आउला भनेर,’ उनी भन्छिन्, ‘हाम्रो ध्यान काम राम्रो गर्नेमा मात्र थियो । तर दर्शकले दिनुभएको मायाले फिल्म सफल हुन्छ भन्ने लागेको छ ।’
पुजन अहिले फिल्म प्रचारप्रसारको दौडधुपमा छिन् । यो फिल्मले आमाछोराको कथा भन्छ । फिल्ममा उनी ‘गणेश’ नामक पात्रको जर्नीमा भेटिने एउटा महत्त्वपूर्ण केटी साथीको भूमिकामा छिन् । उनी चरित्रको नाम अहिले गोप्य राख्छिन् । फिल्मको प्रचार रणनीति अनुसार उनको र अर्की अभिनेत्री वर्षा सिवाकोटीको चरित्रको नाम गोप्य राखिएको छ ।
म्युजिक भिडियो, टेलिसिरियल हुँदै फिल्ममा भित्रिएकी उनलाई ‘गोबर गणेश’ अघि अन्य फिल्मको अफर नआएको होइन । फिल्मका अफर त उनलाई सिरियल अगाडिदेखि नै आउन थालेको थियो । धेरै फिल्मका अडिसनमा सहभागी भएकी उनी केही फिल्ममा छानिन सफल पनि भएकी थिइन् । तर फिल्म सुटिङका लागि काठमाडौं उपत्यका बाहिर जानुपर्ने र अध्ययनको कारण पनि छोड्न पुगिन् ।
‘लेखान्तमा कसरी अगाडि बढ्नु भनेको हुन्छ । त्यसरी नै हुँदोरहेछ,’ उनी सुनाउँछिन्, ‘यो टिम (गोबर गणेश) सँग सिरियल पनि खेलिसकेको थिएँ । डेब्यु गर्न पनि सहज देखें ।’ उनी बाहिरको धेरै फिल्मका अफर भएपनि ‘गोबर गणेश’बाट डेब्यु हुनु आफ्ना लागि लेखान्त मान्छिन् । ‘यसबाट डेब्यु गर्न लेखेको रहेछ । अन्य फिल्म अभिनय गर्न किन मिल्थ्यो र,’ उनी भन्छन् ।
पहिलो फिल्ममै उनले वर्षा सिवाकोटी, विनोद न्यौपाने, सीतादेवी तिमल्सिना, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी जस्ता खारिएका कलाकारसँग काम गर्न पाएकी छन् । उनी सबै कलाकारबाट धेरै कुरा सिक्न मिलेको बताउँछिन् । आगामी दिनमा पनि अभिनयलाई निरन्तरता दिने सोचकी उनी फिल्ममा सानो होस् वा ठुलो राम्रो भूमिका पाए अभिनय गर्ने सोच राख्छिन् ।
‘म मिहिनेत, संघर्ष जे परेपनि नेपालमै गर्छु भनेर बसेकी हुँ । अहिलेसम्मको यात्रामा सानो संघर्ष पनि छैन । म्युजिक भिडियोदेखि फिल्मसम्मको यात्रा सजिलै भएको होइन’, उनी भन्छिन्, ‘कलाकारितामा झन् ठुला सपनाहरू छन्, अब त अझ राम्रो गरेर देखाउनु छ ।’
‘गोबर गणेश’लाई कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले निर्माण तथा निर्देशन गरेका हुन् । फिल्ममा श्रेष्ठ आफैंले मुख्य भूमिकामा अभिनय गरेका छन् ।
पुजनलाई सौगात मल्ल, विपिन कार्की र दयाहाङ राईको अभिनय शैलीले निकै प्रभावित पार्छ । ‘मलाई सौगात मल्ल, विपिन कार्की र दयाहाङ राई सरहरूसँग स्क्रिन सेयर गर्ने ठुलो धोको छ’, उनी रहर सुनाउँछिन्, ‘उहाँहरूले जसरी क्यारेक्टरमा छिरेर अभिनय गर्नुहुन्छ, मलाई उहाँहरूको त्यो टेक्निक सिक्न मन छ ।’
सपना डाक्टर
चितवन निवासी पुजनको पुर्ख्यौली घर धादिङ हो । त्यसैले उनी आफूलाई धादिङ्गे भन्न रुचाउँछिन् । यदि समय र परिस्थितिले अर्कै मोड नलिएको भए उनी आज कुनै अस्पतालमा सेतो कोट लगाएर बिरामीको उपचार गरिरहेकी हुन सक्थिन् । किनभने उनको सानैदेखिको सपना डाक्टर बन्ने थियो । उनको बाल्यकाल डाक्टर र नर्सहरूकै बिचमा बित्यो । उनको मामाघरतिरका अधिकांश सदस्य चिकित्सा क्षेत्रमै थिए, कोही डाक्टर, कोही स्टाफ नर्स । सानैदेखि पढाइमा अब्बल उनलाई कसैले ठुलो भएपछि के बन्ने भनेर सोध्दा उनको जवाफ रहन्थ्यो- ‘डाक्टर’ ।
सोही अनुसार उनले आफ्नो शैक्षिक यात्रा अगाडि बढ्दै थियो । जब प्लस टु सकेपछि उनी एमबीबीएस तयारीका लागि काठमाडौँको भाइब्रेन्ट इन्स्टिच्युटमा पुगिन् । त्यहाँ उनले इन्ट्रान्स परीक्षा पनि दिइन् र नाम पनि निस्कियो । तर सरकारी कोटामा नभई ‘पे’ (पैसा तिरेर पढ्ने) कोटामा उनको नाम निस्किएको थियो । डाक्टर पढ्नका लागि ६० देखि ७० लाख रुपैयाँ उनले खर्च गर्नुपर्ने भयो । मध्यमवर्गीय परिवारकी पुजनलाई ७० लाख रुपैयाँ निकै ठुलो भारी लाग्यो ।
‘त्यत्रो पैसा तिरेर डाक्टर बन्नु भन्दा अस्ट्रेलिया गएर नर्सिङ पढ्छु र पैसा पनि कमाउँछु भन्ने मेरो सोच आयो’, उनी करिअरको टर्निङ प्वाइन्टबारे सुनाउँछिन्, ‘त्यतिबेला अस्ट्रेलियाको ट्रेन्ड चलेको थियो । मैले पनि अस्ट्रेलिया अप्लाई गरें ।’
तर अस्ट्रेलियाको भिसा रिजेक्ट भयो । भिसा रिजेक्ट भएपछि उनी निकै तनावमा परिन् । अस्ट्रेलियाको प्रोसेसका लागि थुप्रै पैसा खर्च भइसकेको थियो ।
‘बुबाले यत्रो ऋण लिएर मेरो लागि लगानी गर्नुभएको थियो । भिसा रिजेक्ट भएपछि फेरि पैसा माग्न अप्ठ्यारो भयो,’ उनी सुनाउँछिन्, ‘केही भिडियोमा अभिनय गरिसकेकी मलाई भिडियो अफर आइरहेको थियो । घरमा पैसा माग्नुभन्दा आफैं केही गर्नुपर्छ भनेर लगातार भिडियो अभिनय गर्न थालें ।‘
मेलाले डोर्यायो कलाकारितामा
पुजन सानैदेखि नाच्न सिपालु थिइन् । गाउँघर र स्कुलका सांगीतिक कार्यक्रमहरूमा उनी सहभागी हुन्थिन् । सानोमा फिल्म हेर्दा र पर्दामा कलाकार देख्दा आफू पनि त्यसरी छाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । ठुलो भएपछि कलाकारितामा लाग्छु भनेर सोच्थिन् । फिल्म ‘हाउ फन्नी’ हेरेपछि प्रियंका कार्कीको अभिनयबाट उनी निकै प्रभावित बनिन् । त्यो समय उनको मनमा लागेको थियो, ‘हिरोइन बन्छु र समाजमा राम्रो सन्देश दिने केही गर्छु ।’
एकपटक उनले सौराहामा आयोजना गरिएको फुड फेस्टिभलमा नृत्य प्रस्तुत गरेकी थिइन् । त्यहाँ उनलाई तेक्वान्डो खेलाडी संगम र दिवस नामका दुई व्यक्तिले देखेका रहेछन् । उनीहरुसँग उनकी बहिनी पनि तेक्वान्दो खेल्थिन् । उनीहरूले नै एउटा तीजको गीत अभिनयका लागि उनलाई अफर गरे । अध्ययनमा डिस्टर्ब नहुनेगरी घरबाट अभिनय अनुमति मिल्यो । आमाको साथ लागेर काठमाडौँ आएकी पुजनले खुमन अधिकारी र सुष्मा रुपाखेतीको ‘हेर न मायाले हेर न’ बोलको गीतबाट भिडियो अभिनय यात्रा सुरु गरिन् ।
सुरुमा रहरले सुरु गरेको यो यात्राले तब गति लियो, जब रामजी खाँडको ‘सेल्फी हान्देऊ न कहाँ छौ र’ गीत हिट भयो । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन । आजको मितिसम्म उनले २०० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।
सिरियल चाहिँ उनलाई टिकटकका कारण मिलेको थियो । उनी अभिनय गरेर टिकटक भिडियो बनाउँथिन् । उनको चुलबुले अभिनय र हाउभाउले टिकटकमा राम्रो भ्युज र लाइक पाउँथ्यो । उनका टिकटक भिडियोहरू कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को पनि नजरमा परे । त्यसबेला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आएकी इष्टु कार्कीले सिरियल छाडेकी थिइन् । इस्टुले निभाउँदै आएको ‘नेप्टी’को भूमिकाका लागि मरिचमान नयाँ अनुहारको खोजीमा थिए । उनले अर्का कलाकार राजु मास्टरसँग सल्लाह गरेर पुजनलाई अफर गरे ।‘सुरुमा म सक्दिनँ होला भनेर डराएकी थिएँ । हुँदैन भनेको थिएँ । तर पछि टिमको हौसलाले ‘हल्का रमाइलो’ खेल्न सफल भएँ,’ उनी सुनाउँछिन् । आफ्नो पहिलो एपिसोडमा मरिचमानकी गर्लफ्रेन्ड ‘पुक्कु’को भूमिकामा देखिएकी उनी चर्चामा आइन् । त्यसपछि पुजनले पछाडि फर्केर हेर्नु परेन । अहिले उनी फिल्मको यात्रा तय गर्दैछिन् ।