प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ४ घण्टा लामो संवाद भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार कार्की र ओलबीच भेटवार्ता र लामो छलफल भएको बालुवाटार स्रोतले जनाएको हो ।प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीचको भेटवार्तामा आगामी फागुन २१ गतेको निर्वाचन केन्द्रित छलफल भएको छ । भेटमा विशेष त निर्वाचन केन्द्रित छलफलका लागि बालुवाटार पुगेका अध्यक्ष ओलीले त्यसबाहेक प्रधानमन्त्री कार्कीका श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाको बारेमा समेत चासो राख्नुभएको थियो । सोही क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीसँग समग्र निर्वाचनको तयारी, अवस्था र सुरक्षाको बारेमा चासो राखेको स्रोतले जनाएको हो । जवाफमा प्रधानमन्त्री कार्कीले सबै प्रबन्ध सरकारले मिलाएको र ढुक्क हुन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
एमाले निर्वाचन केन्द्रित गतिविधिमा सहभागी भएकोमा प्रधानमन्त्री कार्कीले खुशी प्रकट गर्नुभयो । उहाँले बदलिएको परिस्थितिमा पार्टीको महाधिवेशन समेत गरेर चुनौतीपूर्ण अवस्थामा पनि राजनीतिक गतिविधि गरेकोमा ओलीलाई धन्यवाद समेत दिनुभएको हो । प्रधानमन्त्री कार्कीसँगको संवादका क्रममा अध्यक्ष ओलीले निर्वाचनको वातावरण बनेको खण्डमा एमाले चुनावबाट नभाग्ने विश्वास दिलाउनुभएको सचिवालयले जनाएको छ ।