कास्कीको पोखरा महानगरका मुख्य व्यापारिक क्षेत्रमा सडक अवरुद्ध हुने गरी राजनीतिक दलहरुका भेला, जुलुसहरु नहुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार आयोजना गरेको राजनीतिक दलहरूसँगको समन्वय बैठकले यस्तो निर्णय गरेको हो ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को शान्ति, सुरक्षा लगायतका विषयमा छलफल गर्न भएको बैठकले निर्वाचन केन्द्रित गतिविधिलाई व्यवस्थित बनाउन यस्तो निर्णय लिएको हो ।
पोखराका मुख्य व्यापारिक स्थलहरू चिप्लेढुङ्गा, महेन्द्रपुल, पृथ्वीचोक लगायतका स्थानमा सडक अवरुद्ध हुने गरी कुनै पनि कार्यक्रम नगर्ने सहमति भएको छ ।
बैठकले गरेको निर्णयमा भनिएको छ,“निजी क्षेत्रका व्यापारिक संस्थाहरू समेतबाट समय समयमा ध्यानाकर्षण गराइरहेको साथै यातायात व्यवस्थापन समेतलाई मध्यनजर गर्दा व्यापार, व्यवसायलाई प्रतिकूल प्रभाव पार्न सक्ने गरी चिप्लेढुङ्गा महेन्द्रपुल लगायतका मुख्य व्यापारिक स्थल तथा बजार क्षेत्रका चोक र सडक अवरुद्ध हुने गरी कुनै पनि कार्यक्रम सञ्चालन नगर्ने ।”
पोखराका मुख्य व्यापारिक क्षेत्रमा सभा, जुलुस नगर्न यहाँका उद्योगी, व्यवसायीले माग गर्दै आएका थिए ।
गएको मङ्सिर १४ गते नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले चिप्लेढुङ्गामा आयोजना गरेको सभामा व्यापारीहरूले प्रदर्शन गर्नुका साथ सो क्षेत्रको व्यवसाय नै बन्द गरी विरोध जनाएका थिए ।
बैठकले राजनीतिक दलहरूबाट हुने जनप्रदर्शन, आमसभा लगायतका कार्यक्रम गर्दा सम्बन्धित स्थानीय तहबाट अनुमति लिनुपर्ने र गृह मन्त्रालयबाट प्राप्त परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालयमा तोकिएको फारम भरी अग्रिम लिखित जानकारी गराउनुपर्ने नियम पालना गर्नेगराउने निर्णयसमेत गरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो ।
बैठकले दलहरूले कार्यक्रम गर्दा आपसमा समन्वय गरी कार्यक्रमस्थल र समय नजुध्ने गरी व्यवस्था मिलाउनुपर्ने, जिल्लाभित्र आयोजना गरिने सभा, समारोह, प्रदर्शन, मेला, जात्रा, महोत्सव, कन्सर्ट, सांस्कृतिक कार्यक्रम र खेलकुदका लागि पनि स्थानीय तहको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था पालना गर्नेगराउने निर्णयसमेत लिएको छ ।
बैठकमा सहभागी दलका प्रतिनिधिहरूले निजी क्षेत्रका व्यापारिक संस्थाहरूको ध्यानाकर्षण र यातायात व्यवस्थापनलाई मध्यनजर गर्दै मुख्य बजार क्षेत्रमा अवरोध नहुने गरी सभा, जुलुस गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकमा पोखरा महानगरपालिकामा प्रमुख धनराज आचार्य, जिल्ला समन्वय समिति प्रमुख लीलाधर पौडेल, राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न कार्यालयका प्रमुख र प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।